महिला सेफ हाउस निर्माण गर्दा २४ लाख र महिला वृद्धाश्रम निर्माण गर्दा १४ लाख रुपैयाँ खर्च भएको थियो ।
What you should know
बैतडी — लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएका महिला वृद्धाश्रम र महिला सुरक्षित आवास गृह (महिला सेफ हाउस) प्रयोग नगरीकनै जीर्ण अवस्थामा पुगेका छन् । निर्माण सम्पन्न गरेको वर्षौं बिते पनि यी भवन संचालनमा नआएपछि जीर्ण बनेका हुन् ।
दशरथचन्द नगरपालिका र केयर नेपालको आर्थिक सहयोगमा अन्तरपार्टी महिला संजालले हिंसापीडित महिलाको बसोबासका लागि भनेर २०७१.सालमा महिला सेफ हाउस निर्माण गरेको थियो । यस्तै तत्कालीन जिल्ला विकास समिति र दशरथचन्द नगरपालिकाको आर्थिक सहयोगमा महिला उत्थान केन्द्रले अलपत्र परेका र असहाय, अशक्त वृद्ध महिलाको बसोबासका लागि २०७५ सालमा महिला वृद्धाश्रम भवन निर्माण गरेको हो ।
महिला सेफ हाउस निर्माण गर्दा २४ लाख रुपैयाँ खर्च भएको अन्तरपार्टी महिला संजाल बैतडीकी अध्यक्ष पार्वती भट्टले बताइन् । यो भवनमा ४ कोठा, एक भान्छा र शौचालय रहेका छन् ।
महिला सेफ हाउस नगरपालिकालाई संचालनका लागि पटक–पटक भन्दा पनि संचालन नगरेको उनले बताइन् । ‘जिल्लामा सरुवा भएर आउने सबै प्रमुख जिल्ला अधिकारी महिला सेफ हाउस संचालनको लागि चासो राख्छन्,’ उनले भने, ‘पछि संचालनका लागि कुनै पहल हुँदैन ।’
महिला वृद्धाश्रम निर्माण गर्दा १४ लाख रुपैयाँ लागत लागेको महिला उत्थान केन्द्रकी अध्यक्ष सरस्वती भट्टले बताइन् । ४ कोठे यस भवनमा एक शौचालय छ । वृद्धाश्रम संचालनका लागि नगरपालिकालाई भन्दा जमिनसहितको भवन नगरपालिकाका नाममा नामसारी गरिदिएमात्र संचालनको जिम्मा लिने भनेपछि आफूहरूले त्यस्तो नगरिदिएको उनले बताइन् ।
महिला वृद्धाश्रमको जमिन महिला उत्थान केन्द्र र महिला सेफ हाउसको जमिन अन्तरपार्टी महिला संजालका नाममा रहेको छ । आर्थिक अभावले वृद्धाश्रम र सेफ हाउस संचालन गर्न नसकेको उनीहरूले बताए ।
नगरपालिकाभित्र निर्माण गरिएका संरचना संचालन, रेखदेख गर्ने जिम्मा नगरपालिकाको भए पनि नगरपालिकालाई अहिलेसम्म महिला सेफ हाउस र वृद्धाश्रम निर्माण गर्ने संस्थाहरूले हस्तान्तरण नगरेको हुँदा संरचना संचालन र रेखदेख गर्न नसकेको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले बताए ।
अहिले जिल्लाभरिका सबै हिंसापीडित महिला पाटन नगरपालिकाले संचालन गरेको महिला सेफ हाउसमा बस्दै आइरहेका छन् ।
