कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए ।

पुस ६, २०८२

कान्तिपुर संवाददाता

Committee formed to investigate Kanchanpur Prison incident

कञ्चनपुर — दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडपको घटना छानबिन गर्न स्थानीय प्रशासनले समिति गठन गरेको छ । गत शुक्रबार कैदीबन्दी र नाइकेबीच कारागारभित्र विवाद हुँदा भएको झडपमा आठ कैदीबन्दी घाइते भएका थिए ।

घाइतेमध्ये दुई जना कारागार फर्किएका छन् भने छ जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारको घटनाको यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य रहेका छन् । समितिलाई छानबिन गर्न सात दिनको समयावधि दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

ढकालले भने, ‘आज पनि कारागारको अनुगमनमा जाँदैछौँ । घटनाको विस्तृत छानबिन समितिले प्रतिवेदनमार्फत पेस गर्ला ।’ नाइकेहरूले कारागारभित्र एकाधिकार गरेको आरोपसहित यहाँ कैदीबन्दी आन्दोलित भएका थिए । कैदीबन्दीले नाइकेहरूले आफूहरूले पाउने सेवा–सुविधामा आर्थिक चलखेल गर्ने र कारागारभित्र अवैध गतिविधि गर्ने गरेको आरोप लगाएका छन् ।

कान्तिपुर

Link copied successfully