चितुवाको अगाडिपट्टिको दायाँ खुट्टा पासोमा फसेको थियो ।
बैतडी — बैतडीमा पाासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ । आइतबार राति जिल्लाको सिगास गाउँपालिका–२ धौलाडीको भिमराडीमा चितुवा पासोमा फसेको थियो ।
स्थानीयहरूले थापेको पासोमा फसेको चितुवालाई मंगलबार १२ बजेतिर सकुशल उद्धार गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी नरेश कर्णले बताए ।
चितुवाको अगाडिपट्टिको दायाँ खुट्टा पासोमा फसेको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कञ्चनपुरबाट आएको प्राविधिक टोलीले चितुवाको उद्धार गरेको उनले बताए ।
पासोमा फसेको चितुवालाई बेहोस गरेर प्राविधिक टोलीले उद्धार गरेको हो । चितुवालाई सिगास संरक्षित वन क्षेत्रमै छोडिने डिभिजन वन कार्यालयले जनाएको छ ।
सामुदायिक वनको हाताभित्र पासो केका लागि र कसले थापेको भन्नेबारे अनुसन्धान गर्न डिभिजन वन कार्यालय बैतडीले सामुदायिक वनलाई पत्राचारसमेत गरेको छ
