बस्ने घर र कमाइ खाने जग्गा नभएपछि मृतक महराका १० वर्षीय छोरा, ८ र ६ वर्षीया दुई छोरी एवं श्रीमतीको बिचल्ली भएको छ ।
What you should know
बैतडी — सुर्नया गाउँपालिका–४ की जानकी महरालाई श्रीमान्को किरिया सकिएपछि बाहिर निस्किएर कहाँ जाने भन्ने समस्या भएको छ । केही दिनअगाडि उनका श्रीमान् २९ वर्षीय नरेश महराको मिनी ट्रक दुर्घटनामा परी मृत्यु भएको हो ।
परम्पराअनुसार श्रीमान्को काजकिरिया गर्न पनि जानकीसँग आर्थिक अभाव थियो । जसोतसो १० दिनको किरिया सकेर अब बाहिर आउन जानकीसँग आर्थिक समस्या भएको उनका आफन्त सुरेश महराले बताए । आर्थिक अभावसँगै जानकीसँग आफ्नो घर नहुँदा आफन्त दलजित महराको घरमा श्रीमान्को किरिया बसेकी हुन् ।
मृत्यु हुनअघि नै श्रीमान्ले घरजग्गा सबै बेचेको हुनाले किरियासमेत बस्ने ठाउँ नभई आफन्तको घरमा बसेको जानकीले बताइन् । श्रीमान्ले रातदिन कुटपिट गर्ने हुँदा सहन नसकेर माइत गएको उनले बताए । ‘माइतमै गएर दुःख दिन थालेपछि महिला सुरक्षित आवास पाटनको शरणमा गएँ,’ उनले भनिन्, ‘म पाटनमा हुँदा यहाँ घर–जमिन सबै बेचेका रहेछन् ।’
आफूहरूले जति सम्झाए पनि नमान्ने गरेको मृतकका आफन्त हजारी महराले बताइन् । ‘सधैं मदिरा खाने, झगडा गर्ने, भएको सम्पत्ति नबेच भन्दा उल्टै गाली गर्थे,’ उनले भनिन्, ‘सबै सकेर आफू त गए, अब यो बिचरीले कसरी बालबच्चा पाल्ने ? बस्ने घरसमेत बाँकी राखेनन् ।’
जानकीका सासू–ससुराको पहिले नै मृत्यु भइसकेको छ । मृतक नरेश एक्लो छोरा हुन् । बस्ने घर र कमाइ खाने जग्गा नभएपछि मृतक महराका १० वर्षीय छोरा, ८ र ६ वर्षीया दुई छोरी एवं श्रीमतीको बिचल्ली भएको छ ।
जानकीको अवस्थाका बारेमा थाहा पाएपछि प्रमुख जिल्ला अधिकारी पूण्यविक्रम पौडेल र कपडा बैंकका संयोजक महेश भट्टसहितका सरोकारवालाले केही राहत रकम दिएका छन् । सुर्नया गाउँपालिका अध्यक्ष अमर कुँवरले पनि पालिकाबाट सहयोग गरिने बताए ।
