सामाजिक संघसंस्थामाथि भइरहेको निरुत्साहन रोक्न महासंघको माग

पछिल्लो समय केही तत्त्वले सामाजिक संघसंस्थाको योगदानलाई अवमूल्यन गर्दै निरुत्साहित गर्ने तथा अभियन्ताहरूलाई अपराधीकरण गर्न खोज्ने दूषित मनसाय देखिएको महासंघको दाबी ।

मंसिर २८, २०८२

तर्कराज भट्ट

Federation demands to stop the ongoing discouragement of social organizations

What you should know

डडेल्धुरा — गैरसरकारी संस्था महासंघ, नेपाल जिल्ला शाखा डडेल्धुराले परिवर्तित राजनीतिक परिस्थितिमा सामाजिक संघसंस्थाले गरेको योगदानलाई अवमूल्यन र निरुत्साहित गर्ने दुष्प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारलाई आइतबार ज्ञापनपत्र बुझाउँदै नागरिक समाजका गतिविधिलाई भयरहित वातावरणमा निरन्तरता दिन सक्ने अवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको हो । 

ज्ञापनपत्रमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनपछिको परिस्थितिमा लोकतन्त्र, संविधान र व्यवस्थामाथि चुनौती देखिएको उल्लेख गर्दै निर्वाचनको वातावरण निर्माणमा सरकारको भूमिकाप्रति महासंघले धन्यवाद व्यक्त गरेको छ । 

महासंघले देशको समग्र विकासमा सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा भूमिकालाई जोड दिएको छ । नागरिक समाजका सरोकारवालाका रूपमा संघसंस्थाले गाउँ–टोलदेखि केन्द्रसम्म पहरेदारी, खबरदारी र साझेदारी गर्दै आएको, सामाजिक रूपान्तरण, सामुदायिक विकास, लोकतन्त्र स्थापना, द्वन्द्वकालीन सेवा प्रवाह, असहाय तथा पछाडि पारिएका समुदाय र महिलाको सशक्तीकरण, क्षमता विकास तथा विपद्का समयमा मानवीय सहायतामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको ज्ञापनपत्रमा उल्लेख छ । 

पछिल्लो समय केही तत्त्वले सामाजिक संघसंस्थाको योगदानलाई अवमूल्यन गर्दै निरुत्साहित गर्ने तथा अभियन्ताहरूलाई अपराधीकरण गर्न खोज्ने दूषित मनसाय देखिएको महासंघको दाबी छ । यसले नागरिक समाजको मनोबल कमजोर पार्ने खतरा बढेको भन्दै संघसंस्थाको मनोबल उच्च राख्ने र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ । 

नवयुवाको आन्दोलनले उठाएका मागअनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र बेथितिको अन्त्यका लागि ठोस आधार तयार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्न महासंघकी सचिव सुनिता गैरे र अध्यक्ष शिवराज पाठकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख छ ।

तर्कराज

Link copied successfully