चालु आवको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना ज्येष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडाध्यक्ष कालुसिंह भाटले बताए ।
बैतडी — बैतडीको पाटन नगरपालिका–९ वडाले वडाका ज्येष्ठ र एकल महिलालाई कम्बल वितरण गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार वडाभित्र स्थायी बसोबास गर्ने ६० वर्षमाथिका ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा (कम्बल) वितरण गरिएको हो ।
चालु आवको ३ लाख ५० हजार बजेटमा वडाका १३७ जना ज्येष्ठ नागरिक र ५७ एकल महिलालाई कम्बल वितरण गरिएको वडाध्यक्ष कालुसिंह भाटले बताए । ‘यो कम्बलले पूर्ण नहुने भए पनि उनीहरुप्रतिको सम्मान हो,’ उनले भने, ‘यसमा हामीले एकैघरमा नदोहोरिने गरी वितरण गरेका छौं ।’
आर्थिक अवस्था कमजोरका कारण धेरैजसोले न्यानो लुगा किन्न नसक्ने भएकाले पनि वार्षिक बजेटमै कम्बल वितरणका लागि विनियोजित गरिएको वडा सदस्य प्रेम भाटले बताए ।
चिसो मौसममा आफूहरुको मर्म बुझेर वडाले कम्बल दिँदा खुसी लागेको ज्येष्ठ नागरिक आनसिंह भाटले बताए । ‘यो हामीलाई दिएको कम्बलले केवल चिसो मात्रै रोक्दैन,’ उनले भने, ‘यो वडाको हामीप्रतिको सम्मान पनि हो ।’
आइतबार नगरपालिकाका प्रमुख गौरी रावलसहितले एक कार्यक्रमबीच ज्येष्ठ नागरिक र एकल महिलालाई कम्बल वितरण गरेको वडाले जनाएको छ ।
