मुख्यमन्त्री शाहको दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ ।
धनगढी — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
मुख्यमन्त्री शाहको दायाँ खुट्टा, रीडको हड्डी र नसा सम्बन्धी समस्या देखिएपछि केही दिनदेखि हिँडडुल गर्नसमेत कठिनाइ भएको सचिवालयले जनाएको छ । उनी शुक्रबार बिहान धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली गएका हुन् ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गर्दा पनि अवस्था सुधार नआएपछि उनी काठमाडौं गएका थिए । काठमाडौंमा पनि पूर्णरूपमा निको नभएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि नयाँ दिल्ली जाने निर्णय गरिएको उनको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री शाहको उपचार नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा हुने भएको छ । उपचारमा लाग्ने सम्पूर्ण खर्च उनले व्यक्तिगत रूपमा व्यहोर्ने पनि सचिवालयले स्पष्ट पारेको छ । उनदे दिल्ली प्रस्थानसँगै आर्थिक मामिला मन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी प्रदान गरेका छन् ।
