बैतडीकाे पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि चिकित्सकविहीन

विज्ञ केन्द्रमा पशु चिकित्सक नभएपछि पशुचौपायामा देखिने विशिष्ट रोगको पहिचान हुन सकेको छैन् ।

मंसिर २६, २०८२

मोहन चन्द

Baitadi's Animal Service Specialist Center has been without a doctor for a year

बैतडी — बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र एक वर्षदेखि पशु चिकित्सकविहीन छ ।

विज्ञ केन्द्रमा एक जना पशु सेवा चिकित्सको दरबन्दी एक वर्षदेखि रिक्त छ । करारमा कार्यरत पशु चिकित्सक विशाल पाठक गत वर्षको मंसिरमा कर्णाली प्रदेशमा स्थायी पदमा नाम निकालेपछि हालसम्म विज्ञ केन्द्र चिकित्सकविहीन छ ।

सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहत रहेको विज्ञ केन्द्रमा एक वर्षदेखि पशु चिकित्सक नहुँदा पनि पदपूर्ति हुन सकेको छैन ।

विज्ञ केन्द्रमा पशु चिकित्सक नहुँदा पशु स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्न नसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानीदत्त पन्तले बताए । ‘पशुमा लाग्ने रोगको पहिचान तथा निदान, निरोगिता प्रमाणित, ल्याब, शल्यक्रिया, डाइग्नोसिस जस्ता पशु स्वास्थ्य सेवा प्रभावित बनेका छन्,’ उनले भने, ‘विज्ञ केन्द्र भनेपछि एक जना चिकित्सक नियमित नै चाहिन्छ ।’

यस्तै चिकित्सक नहुँदा जिल्लाबाट बाहिरिने खसी, बोका, भैंसी, राँगा निकासी पैठारीको लागि प्रमाणित गर्न नसकिएको उनले बताए । पशु चिकित्सकसहित १२ जना कर्मचारीको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा अहिले एक जना पशु विकास अधिकृत र एक जना प्राविधिक गरी दुई जना मात्रै रहेका छन् । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully