कञ्चनपुर भन्सार कार्यालयसँगै कैलाली, नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगर भन्सारमा यो प्रणाली सुरु भएको छ ।
कञ्चनपुर — भारत तथा अन्य मुलुकबाट सामान आयात गर्दा भन्सारपिच्छे फरक–फरक मूल्यांकन हुने गरेको छ । यसले अन्डर बिलिङ र ओभर बिलिङ हुने गरेको थियो । तर अबदेखि भने भन्सार अनलाइनबाट सामग्रीको मूल्यांकन हुने भएको छ ।
विराटनगरबाट सुरु भएको भन्सारको अनलाइन मूल्यांकन प्रणालीको सोमबार कञ्चनपुर भन्सार कार्यालयमा पनि शुभारम्भ गरिएको हो । अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालले अनलाइन मूल्यांकन प्रणालीको शुभारम्भ गरेका हुन् ।
‘विगतको तुलनामा भन्सारमा भौतिक र प्रणालीगत रूपमा धेरै सुधार भइसकेको छ,’ सचिव बरालले भने, ‘भन्सार सुशासनका लागि यो एउटा कोशेढुंगा हो, भन्सारको डिजिटलाइजेसन सुरु भएको छ ।’ यसले कम मूल्यांकन गरेर राजस्व चुहावट हुने समस्या समाधान हुने उनले बताए । ‘मिलेमतोमा सामग्रीको मूल्यांकन हुने प्रवृत्ति यो प्रणालीले अन्त्य गर्नेछ,’ सचिव बरालले भने ।
कञ्चनपुर भन्सार कार्यालयसँगै कैलाली, नेपालगन्ज, भैरहवा, वीरगन्ज र विराटनगर भन्सारमा यो प्रणाली सुरु भएको छ । प्रणाली लागू भएपछि सही बिल विजगदेखि कारोबार मूल्य प्रस्तुत गर्नुपर्ने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए । उनले सामग्री आयात गर्दा भन्सार बिन्दुमा आइपुग्दा लाग्ने खर्चसहितको मूल्यांकन गरेर अब जाँचपास हुने बताए ।
