चिसापानी–राजकाँडा केबलकार वैशाखदेखि सञ्चालनकाे तयारी

राजकाँडामा पाँच तारे होटल, पाँच सय जना क्षमताको सेमिनार हल, आकर्षक जाल्पादेवी मन्दिर, एक किलोमिटर पर्खाल, एक हजार बालबालिका खेल्न मिल्ने बेबी पार्क, शिशाको पुललगायतका संरचना पनि निर्माण गर्ने योजना छ ।

मंसिर २२, २०८२

अर्जुन शाह

Chisapani-Rajkanda Cable Car to be operational from April

What you should know

धनगढी — कैलालीको चिसापानीमा गत पुसमा शिलान्यास भएको चिसापानी–राजकाँडा केबलकार आयोजनाको निर्माण तीब्र गतिमा भइरहेको छ ।

आगामी वैशाखसम्म पहिलो चरणकाे निर्माणका काम सम्पन्न गरेर केबुलकार सञ्चालनमा ल्याइने जाल्पादेवी केवलकार कम्पनीले जनाएको छ ।

हालसम्म कार्यालय भवनका संरचनाको निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ । केबलकारका लागि आवश्यक पर्ने १४ टावरमध्ये सात वटा निर्माण भइसकेका छन् । केबलकारको तल र माथि दुवै स्टेशन निर्माणको काम पनि आधा भन्दा बढी भइसकेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा केबलकार, पार्किङ र कार्यालय भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । व्यवसायी चन्द्रप्रसाद ढकाल र कैलालीका व्यवसायी सूर्यबहादुर थापाको करिब सात अर्ब सयुक्त लगानीमा केबलकार आयोजना निर्माण भइरहेको हो ।   

दुई वर्षमा सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरेर पूर्णरुपमा सञ्चालनमा ल्याउने उद्देश्यका साथ कम्पनीले काम सुरु गरेकाे थियो । पहिलो चरणमा ०८३ वैशाखमा केबलकार सञ्चालन गर्ने योजना रहेको सञ्चालक थापाले बताए । ‘आउँदो वैशाखसम्म केबलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ,’ थापाले भने । थापाका अनुसार दोस्रो चरणमा पाँच तारे होटल, क्यासिनो, फनपार्कलगायतका पूर्वाधार निर्माण हुने छन् । 

कर्णाली पुलको आकर्षणले कैलालीको चिसापानीमा भइरहेको चहलपहल केबलकार निर्माणपछि झन् बढ्ने स्थानीयको अपेक्षा छ । चिसापानी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको संगमस्थल चिसापानीमा निर्माण भइरहेको केबलकार नेपालकै सबैभन्दा लामो भएको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार उक्त केबलकारको लम्बाई ३.१ किलोमिटर हुनेछ । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म निर्माण हुने यो परियोजना सुदूरपश्चिममा नीजि लगानीको सबैभन्दा ठूलो परियोजना हो । कैलालीको चुरे क्षेत्रको सबैभन्दा अग्लो पहाड राजकाँडामा केबलकारसँगै पाँच तारे होटल, चिसापानीमा तीन तारे होटललगायतका पूर्वाधार निर्माण हुने छन् ।

चिसापानीमा तीन तारे होटल, एक हजार जना क्षमताको बैंक्विट हल, क्यासिनो, चमेना गृह, स्वीमिङ पुललगायत पूर्वाधार निर्माणको तयारी भइरहेको सञ्चालक थापाले बताए । थापाका अनुसार राजकाँडामा पाँच तारे होटल, पाँच सय जना क्षमताको सेमिनार हल, आकर्षक जाल्पादेवी मन्दिर, डाँडा वरिपरी एक किलोमिटर लामो पर्खाल, एक हजार बालबालिका खेल्न मिल्ने बेबी पार्क, शिशाको पुललगायतका संरचना निर्माण गर्ने योजना छ । राजकाँडामा प्राकृतिक चिकित्सा केन्द्रसमेत स्थापना गर्ने योजना कम्पनीको छ । ती संरचनाको पनि निर्माण सुरु भइसकेको सञ्चालक थापाले बताए ।

Chisapani-Rajkanda Cable Car to be operational from April

राजकाँडामा निर्माण हुने एक किलोमिटर लम्बाइको पर्खालमा चढेर कर्णाली पुलसहित तराइका फाँट, पहाड तथा हिमश्रृंखलाको दृष्यावलोकन गर्न पाइने डिजाइन रहेको सञ्चालक थापाले बताए ।  यो परियोजनाले सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उनले बताए । भारतीय सीमा गौरीफन्टाबाट दुई घण्टाको दुरीमा रहेको चिसापानीको केबलकार र पाँच तारे होटल भारतीय पर्यटकको रोजाईमा पर्ने विश्वास रहेको कम्पनीको छ ।

समुन्द्री सतहदेखि करिब १ हजार २ सय मिटर उचाइँमा रहेको राजकाँडाबाट चिसापानी क्षेत्रको दृष्यावलोकनदेखि तराइका सुन्दर फाँटसँगै अपि, साइपाल, काञ्जीरोवा हिमाल, ओमपर्वतलगायतका हिमश्रृंखलाको दृष्यावलोकन गर्न सकिनेछ ।

बाघ अवलोकनका लागि प्रसिद्ध बर्दिया राष्ट्रिय निकुञ्ज चिसापानीसँगै जोडिएकोले पनि यहाँ पुग्ने पर्यटकका लागि बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनमा सहज अवसर प्राप्त हुने संचालक थापाले बताए । केबलकारबाट हुने आम्दानीको २ प्रतिशत स्थानीय सरकारलाई रोयल्टी दिइने छ भने सयौंलाई रोजगारी सिर्जना हुने उनले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully