जिल्लाको एकता सन्देश सभामा पूर्वउपप्रधानमन्त्री भीम रावल, नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायतका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरू सहभागी हुनेछन् ।
डडेल्धुरा — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुरामा ‘बृहत् एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ । मंसिर २४ मा सदरमुकामको बसपार्कमा सभाको आयोजना गरिएको हो ।
२०७४ सालमा भएको कम्युनिस्ट एकताले देशभर ठूलो आशा जगाएको भए पनि बीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘व्यक्तिगत आडम्बर’ का कारण एकता प्रक्रियामा अवरोध आएको बृहत् एकता सन्देश अभियान मूल समितिका संयोजक उमेश भट्टले आरोप लगाए । अहिले भने करिब १५ वटा कम्युनिस्ट घटक फेरि एउटै केन्द्रमा उभिएको उनको दाबी थियो ।
‘डडेल्धुरामा नेकपाभित्र कुनै मतभेद छैन,’ उनले भने, ‘सबै नेता–कार्यकर्ता एउटै उद्देश्य र भावनामा एक ठाउँमा छन् ।’ उनका अनुसार जिल्लाको एकता सन्देश सभामा पूर्वउपप्रधानमन्त्री भीम रावल, नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाहलगायतका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरू सहभागी हुनेछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण निर्माण र संगठनभित्रको स्पष्ट मार्गचित्र तय गर्न यो सभा महत्त्वपूर्ण हुने भट्टको भनाइ छ । जेनजी आन्दोलनबाट उठेको प्रश्न र जनभावनालाई सम्बोधन गर्ने क्षमता नेकपाकै भएको दाबी गर्दै उनले आगामी निर्वाचनमा डडेल्धुराबाट ‘निर्विवादित उम्मेदवार’ चयन गर्ने तयारी भएको पनि बताए । उनका अनुसार एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित मुलुकलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विषय सभाको मूल एजेन्डा हुनेछ ।
