ललितपुरको नख्खु कारागारबाट फरार रहेका कैदीलाई मंगलबार दार्चुला सदरमुकास्थित पुलघाट क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दार्चुला — दार्चुला प्रहरीले नख्खु कारागारबाट फरार रहेका कर्तव्य ज्यान मुद्दाका कैदीलाई पक्राउ गरेको छ ।
ललितपुरको नख्खु कारागारबाट फरार रहेका कैदीलाई मंगलबार दार्चुला सदरमुकास्थित पुलघाट क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कैद भुक्तान गरिरहेका कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय तोकिएका दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिका–७ का २३ वर्षीय दिपक चन्दलाई पुलघाट क्षेत्रबाट पक्राउ गरेको हो ।
शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको गस्ती टोलीले बिहान ११ बजेको समयमा पक्राउ गरेको दार्चुला प्रहरीका सहप्रवक्ता देवेन्द्रसिंह बुढाथोकीले बताए ।
प्रहरीका अनुसार चन्दलाई दार्चुला जिल्ला अदालतले २०७८ सालको मुद्दामा २०८० पुस ११ गते चन्दलाई २५ वर्ष कैद र १ लाख जरिवाना तोकिएको थियो । नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २३ र २४ गते देशभर भएको जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते नख्खु कारागारको बन्दीगृहबाट फरार भएका थिए । चन्दलाई पक्राउ गरी दार्चुला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
