विभिन्न निकायहरूको सहयोग र समन्वयमा जिल्ला अस्पतालमा मिनी ब्लड बैंक सञ्चालनमा ल्याइएको सूचना अधिकारी हरिस पन्तले जानकारी दिए ।
बैतडी — जिल्ला अस्पताल बैतडीमा आइतबारदेखि मिनीब्लड बैंक सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको व्यवस्थापन, जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकाको समन्वय र सहयोगमा जिल्ला अस्पतालमा मिनी ब्लड बैंक सञ्चालनमा ल्याइएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिस पन्तले जानकारी दिए ।
यसअघि आकस्मिक रक्तसञ्चार केन्द्र मात्र रहेको बैतडीमा मिनी ब्लड बैंक सञ्चालनमा ल्याइएको हो । मिनी ब्लड बैंक सञ्चालनमा आएसँगै जिल्ला अस्पतालमा रगतको आवश्यकता भएका बिरामीहरूले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
जिल्ला अस्पतालमा सञ्चालनमा ल्याइएको मिनी ब्लड बैंकका लागि एक जना स्वास्थ्यकर्मी दशरथचन्द नगरपालिकाले खटाएको छ । त्यस्तै आवश्यक उपकरण र अन्य सामग्रीहरू जिल्ला अस्पतालले उपलब्ध गराएको हो ।
नेपाल रेडक्रस सोसाइटी मानवीय सेवामा समर्पित संस्था भएकाले ब्लड बैंक व्यवस्थापनमा सहयोग गरी सञ्चालनमा ल्याइएको रेडक्रस सोसाइटी बैतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए ।
मिनी ब्लड बैंक उद्घाटनमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म हेडक्वार्टर्स बैतडीका गुल्मपति, सशस्त्र प्रहरी नायब उपरीक्षक जंगबहादुर कुँवरले एक पोको रक्तदान समेत गरेका छन् । रक्तदान जीवनदान भएकाले ब्लड बैंकमा रक्तदान गर्न सकिने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।
