डडेल्धुराका एचआईभी संक्रमितलाई दुई अस्पतालमार्फत एआरटी सेवा

चालु आर्थिक वर्षमा हालसम्म ८ सय ४२ जनाले एचआईभी परीक्षण गराउँदा १० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

मंसिर १५, २०८२

तर्कराज भट्ट

ART services provided to HIV-infected people in Dadeldhura through two hospitals

What you should know

डडेल्धुरा — डडेल्धुरामा एचआईभी संक्रमितका लागि एआरटी सेवा विस्तार हुँदै गएको छ । जिल्लास्थित डडेल्धुरा अस्पताल र जोगबुढा अस्पतालबाट संक्रमितले नियमित रूपमा सेवा प्राप्त गर्दै आएका छन् । स्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार अहिले यी दुवै अस्पतालमार्फत १ सय २५ जनाले निरन्तर एआरटी सेवा लिइरहेका छन् ।

३८औं विश्व एड्स दिवस २०२५ का अवसरमा स्वास्थ्य कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रममा जनस्वास्थ्य अधिकृत अमृत विष्टले जिल्लाको एचआईभी अवस्थाबारे विस्तृत जानकारी प्रस्तुत गर्दै संक्रमितहरूलाई निरन्तर निगरानी, उपचार र परामर्श सेवा उपलब्ध गराइरहेको बताए । उनका अनुसार सेवा लिनेमध्ये ६८ महिला, १२ वर्षमुनिका ५ बालिका र ५२ पुरुष रहेका छन् । 

चालु आर्थिक वर्षमा जिल्लाभित्र परीक्षणको दायरा केही विस्तार भए पनि थप सक्रियताका साथ अघि बढ्नुपर्ने कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षमा हालसम्म ८ सय ४२ जनाले एचआईभी परीक्षण गराउँदा १० जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । यस्तै, २ हजार ९ सय ४८ गर्भवती महिलाको परीक्षण गरिँदा कुनैमा पनि संक्रमण नदेखिनु जिल्लाका लागि सकारात्मक सूचकका रूपमा लिइएको छ । 

स्वास्थ्य कार्यालयको तथ्यांकले डडेल्धुरामा एचआईभी संक्रमितको संख्या स्थानीय तहअनुसार फरक–फरक देखिएको छ । परशुराम नगरपालिका जिल्लामा सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा पहिचान भएको छ, जहाँ ३८ जना संक्रमित छन् । अमरगढी नगरपालिकामा १५ जना, आलिताल गाउँपालिकामा १२ जना, नवदुर्गा गाउँपालिकामा ११ जना, गन्यापधुरा र भागेश्वर गाउँपालिकामा ८/८ जना तथा अजयमेरु गाउँपालिकामा ७ जना संक्रमित रहेका छन् । 

एचआईभी(एड्स)को क्षेत्रमा सक्रिय डडेल्धुरा प्लसका प्रतिनिधि दिनेश तिवारीका अनुसार संक्रमितहरू अहिले पनि समाजमा भेदभाव र हेय दृष्टिकोणको सामना गरिरहेका छन् । उनका अनुसार संक्रमित व्यक्तिले अझैसम्म परिवार, समुदाय र संस्थागत तहमा आवश्यक समर्थन पाउन सकेका छैनन् । उपचारसँगै सामाजिक स्वीकृति नपाउनु नै उनीहरूको ठूलो चुनौती हो । 

तिवारीका अनुसार परामर्श, मनोसामाजिक सहयोग, सुरक्षित व्यवहारबारे जनचेतना अभिवृद्धि तथा नियमित उपचारमा निरन्तरता दिलाउन समुदायमै आधारित कार्यक्रम आवश्यक छन् । 

स्वास्थ्यकर्मीहरूका अनुसार एचआईभी (एड्स) मुख्यतया असुरक्षित यौन सम्पर्क, संक्रमित रगत तथा रगतजन्य पदार्थको सम्पर्क र संक्रमित आमाबाट बच्चामा सर्ने जोखिमका कारण फैलिने रोग हो । जनस्वास्थ्य अधिकृत विष्टले समुदायमा अझै पनि गलत बुझाइ, लज्जा र भयका कारण धेरैले परीक्षण गराउन नआउने समस्या देखिएको बताए । उनका अनुसार समयमै परीक्षण नगर्दा धेरै संक्रमितले ढिलो उपचार थाल्ने गरेका छन्, जसले स्वास्थ्य जटिलता बढाउँछ । 

कार्यक्रममा सहभागी संक्रमित तथा सरोकारवालाहरूले उपचारपछि सामान्य जीवनयापन सम्भव हुने तर त्यसका लागि नियमित औषधि, परामर्श र सामाजिक समर्थन अपरिहार्य हुनेमा जोड दिए । उनीहरूले संक्रमित व्यक्तिलाई आय–आर्जनसँग जोडेर आत्मनिर्भर बनाउनुपर्ने, विद्यालय र समुदायमा सचेतना कार्यक्रम लैजानुपर्ने तथा स्थानीय तहको भूमिकालाई अझ सक्रिय बनाउनुपर्ने माग पनि राखेका छन् । 

डडेल्धुरामा एचआईभी संक्रमितको उपचार र परामर्श सेवा हाल विस्तार हुँदै गए पनि परीक्षणको दायरा विस्तार, जोखिमयुक्त व्यवहार नियन्त्रण तथा समुदायस्तरमा भेदभाव न्यूनीकरणजस्ता चुनौती अझै उस्तै रहेको जनस्वास्थ्यकर्मीहरूको भनाइ छ । जिल्लाको भौगोलिक विकटता, स्वास्थ्य सेवा पहुँच, जनचेतना अभाव र सामाजिक पूर्वाग्रहका कारण एचआईभीका बारेमा सही सूचना नपुग्नु तथा परीक्षणमा सहभागी नहुनु समस्या रहेको उनीहरू बताउँछन् । 

स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टका अनुसार आगामी वर्षदेखि जिल्लाभर जनचेतनामूलक अभियानलाई तीव्र पार्ने, विद्यालय र स्थानीय संस्थाहरूसँग सहकार्य गरेर जोखिम समूह पहिचान गर्ने तथा एआरटी सेवाको पहुँच थप विस्तार गर्ने योजना बनाइएको छ । कार्यालयले समुदायस्तरमा सुरक्षित व्यवहार, नियमित परीक्षण, परामर्श र उपचारमा निरन्तरता दिलाउन सबै पक्षको सहकार्य अपरिहार्य भएको जनाएको छ ।

तर्कराज

Link copied successfully