एचआईभी संक्रमितलाई गरिने दुर्व्यवहारका कारण खुलेर बाहिर आउन समस्या

स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार जिल्लामा १ सय ३६ जना एचआईभी संक्रमित, संक्रमितमध्ये ७४ जना महिला र ६२ जना पुरुष छन् ।

मंसिर १५, २०८२

मोहन चन्द

Difficulties in coming out due to abuse against HIV-infected people

बैतडी — विश्व एड्स दिवसको अवसरमा स्वास्थ्य कार्यालय बैतडीले सार्वजनिक गरेको तथ्यांकले धेरैको होस उडाएको छ । सोमबार जिल्ला सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बैतडीमा मात्रै १ सय ३६ जना एचआइभी संक्रमित रहेको तथ्यांक सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय बैतडीका तथ्यांक अधिकृत खगेन्द्र कार्कीका अनुसार १ सय ३६ जना संक्रमितमध्ये ७४ जना महिला र ६२ जना पुरुष रहेका छन् । एचआईभी संक्रमितलाई गरिने भेदभावका कारण अझै पनि संक्रमितहरू खुलेर बाहिर आउन नसकेको उनले बताए । 

जिल्लामा सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २८ जना, पाटन नगरपालिकामा २५ जना, मेलौली नगरपालिकामा १६ जना, पञ्चेश्वर गाउँपालिकामा १४ जना, दोगडाकेदार गाउँपालिकामा १८ जना, डिलाशैनी गाउँपालिकामा र सुर्नया गाउँपालिकामा १०/१० जना संक्रिमित रहेका छन् । यस्तै शिवनाथ गाउँपालिकामा ६ जना, पुर्चौंडी नगरपालिकामा र सिगास गाउँपालिकाका ४/४ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । 

बैतडीका २१ जना संक्रमित जिल्लाबाहिर दर्ता भएका छन् । एचआईभी एड्सका विषयमा कमजोर बुझाइ र संक्रमितहरूलाई गरिने दुर्व्यवहारका कारण उनीहरू खुलेर बाहिर आउन नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए । 

कार्यक्रममा संक्रमितहरूले आफूहरूमाथि विभिन्न खालका भेदभाव हुने गरेको र आफूहरूलाई जीविकोपार्जनमा पनि समस्या भइरहेको गुनासो गरेका थिए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully