कान्तिपुरको 'घरखर्च' स्तम्भमा मिजारी दम्पतीको पीडाबारे सामग्री प्रकाशन भएपछि सहयोगीहरूले उद्धारको प्रयास थालेका थिए ।
What you should know
बझाङ — मानसिक सन्तुलन गुमाएकी जयपृथ्वी नगरपालिका–१०, चैनपुरकी पुष्पा मिजारीको उद्धार गरिएको छ । वर्षौंदेखि मानसिक समस्या भोग्दै आएकी उनलाई जिल्ला अस्पताल बझाङमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को प्रयासमा उद्धार गरिएको हो ।
मिजारीको उपचारको लागि मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) ले आर्थिक सहयोग गरेपछि उपचार सम्भव भएको हो । उनलाई शनिबार नै धनगढी लगिएको र त्यहाँ केही दिन उपचारपछि काठमाडौंमा रहेको मानसिक समस्या भएका व्यक्तिको उपचार तथा पुनस्थापना गर्ने संस्था राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोसिस) मा राखेर उपचार गरिने ओसीएमसीका मनोपरामर्शदाता भुवनबहादुर सिंहले बताए ।
छोरा र छोरीमा मानसिक समस्या भएपछि भारी बोकेर दैनिक गुजारा गरिरहेका चैनपुरका ७० वर्षीय मधन मिजारी र उनकी पत्नी सुना मिजारीले भोगिरहेको पीडाबारे गत कात्तिक २३ गते कान्तिपुरको घरखर्च स्तम्भमा प्रकाशित भएको थियो । ‘बुढेसकालमा मर्नु न बाँच्नु भएको छ, आफ्नै सन्तानसँग भागीभागी हिँड्नुपरेको छ’ शीर्षकमा उनीबारेको सामग्री प्रकाशन भएको थियो ।
३० वर्षकी छोरी पुष्पा र २३ वर्षीय छोरा कुबेरलाई मानसिक समस्या भएपछि जथाभावी हिँड्ने, आमाबुवा र भाइलाई कुट्ने तथा बजारका घरपसलमा चोरी, लुटपाट र तोडफोड गर्ने गरेको उनले बताएकी थिइन् । मानसिक समस्या भएका छोराछोरीले कुटेर यी वृद्ध दम्पती पटकपटक सख्त घाइते भएको र छोराछोरीकै डरले घरबाहिर लुकेर बस्नुपरेको खबर सार्वजनिक भएपछि सहयोगीहरुले उद्धारको प्रयास थालेका थिए ।
‘पुष्पालाई पूर्ण रुपमा निको नहुन्जेलसम्म उपचार गर्ने गरी सीएमसी नेपालको जिम्मा लगाएर पठाएका छौं,’ जिल्ला अस्पताल बझाङको ओसीएमसी फोकल पर्सन शान्ति अवस्थीले भनिन्, ‘हामीले महिला र लैगिंक हिंसामा परेकाहरुलाई मात्र सहयोग गर्न मिल्ने भएकाले उहाँको छोराको हकमा केही गर्न सकिएन ।’
जिल्ला अस्पतालका चिकित्कससँग सल्लाह गर्दा उनलाई पनि उपचार गरे सजिलै निको हुने तर उनलाई पूर्ण निगरानीमा राखेर उपचार गर्नु आवश्यक रहेको बताइन् । अवस्थीले यस्तै खालको मानसिक समस्या भोगिरहेकी जयपृथ्वी नगरपालिका–९, की ३० वर्षीया अनिता खड्का र वित्थडचिर गाउँपालिका–६, की १८ वर्षकी विमला स्याँडाको पनि सीएमसी नेपालले उद्धार गरेको जानकारी दिइन् ।
छोरीको निःशुल्क उपचार हुने भएपछि आमा सुना मिजारीले खुसी व्यक्त गरिन् । यद्यपि छोराले निकै उग्र व्यवहार देखाइरहेका कारण आफूहरु घरमा बस्न नसकिरहेको र उनको उपचारमा सहयोग गरिदिन मनकारीहरुलाई अनुरोध गरेकी छन् । ‘कुन बेला आएर मार्छ भनेर छोराकै डरले अहिले हामी घरभित्र सुत्न सकिरहेका छैनौं,’ उनले भनिन्, ‘जहाँ पायो त्यहीँ सुत्नु पर्दा चिसोले बुढाबुढी नै बिरामी परेका छौं । जसरी हुन्छ, मेरो छोराको उपचारको व्यवस्था गरिदिनुपर्यो ।’
