उनीहरुलाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीले जनाएको छ ।
काठमाडौँ — बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ । जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले यहाँ रहेका कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।
कुल ५३ कैदी र ६ थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए ।
दार्चुला कारागारमा ६ थुनुवा र ३ जना कैदी, बझाङमा ९ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताए । कुल २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए । ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ ।
'सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ,' उनले भने, 'कार्यादेशसमेत आइसकेको छ । अबको एक/दुई दिनभित्र काम सुरु हुन्छ ।'
बन्दीगृह निर्माणका लागि १० करोड बजेट विनियोजन गरिएको छ । केकेजे कालिका एस बी जेभीसँग ७ करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ ।
२०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ । नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताए ।
