चैनपुर-ताक्लाकोट सडक भासियो, यातायात अवरुद्ध 

तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो । 

मंसिर ११, २०८२

वसन्तप्रताप सिंह

Chainpur-Taklakot road flooded, traffic disrupted

बझाङ — चैनपुर-ताक्लाकोट सडक भासिएका कारण यातायात अवरुद्ध भएको छ । तलकोट गाउँपालिका १, सुनिकोटमा सडक भासिएपछि बिहीबार बिहानदेखि यातायात अवरुद्ध भएको हो । 

बझाङ सदरमुकामबाट करिब आठ किलोमिटर उत्तरमा रहेको पक्की सडक भासिएपछि जिल्लाका उत्तरी भेगमा चल्ने सवारी साधन ठप्प भएका छन् । पक्की सडक भासिएपछि नजिकै रहेका केही घरहरू पनि जोखिममा परेका छन् । 

'बर्खामा नै सडक अलिअलि दब्न थालेको थियो । अहिले पूरै भासिएको छ, सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर-ताक्लाकोट) सडक कार्यालयका प्रमुख वीरेन्द्र  यादवले भने, 'आठ मिटर जति सडक भासिएको छ । सतहभन्दा झन्डै सात मिटर तलबाट भासिएको देखिएको छ ।'

उनले तत्काल अस्थायी रूपमा मर्मत गर्नका लागि काम सुरु गरिसकेको बताउँदै शुक्रबारसम्म सडक सञ्चालनमा आउन सक्ने बताए । स्थायी रूपमा निर्माण गर्नका लागि ठूलो पर्खाल लगाउनुपर्ने भएकाले अध्ययन भइरहेको उनको भनाइ छ । 

बझाङलाई चीनको ताक्लाकोटसँग जोड्ने यो सडकको ४० किलोमिटरसम्म यातायात सञ्चालन हुने गरेको छ । तलकोट र साइपाल गाउँपालिकाका स्थानीय, साइपाल क्षेत्रमा आउने पर्यटकहरूले यो सडक प्रयोग गर्छन्  । 

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully