बैतडीका १४ कैदीबन्दी डडेलधुरा कारागारमा स्थानान्तरण

कारागार कार्यालय डडेलधुराका जेलर सन्तोष भट्टका अनुसार बैतडी कारागारबाट १४ जना कैदी हालसालै डडेलधुरा स्थानान्तरण गरिएको हो।

मंसिर ८, २०८२

तर्कराज भट्ट

14 prisoners from Baitadi transferred to Dadeldhura Prison

What you should know

डडेलधुरा — १ सय २५ जनाको क्षमता भएको कारागार कार्यालय डडेलधुरामा हाल १ सय ३२ जना कैदीबन्दी रहेका छन्। कारागारमा रहेका कैदीमध्ये १० जना महिला र १२२ जना पुरुष छन्। क्षमता भन्दा बढी कैदी बस्नुपर्ने अवस्थाले व्यवस्थापन र सुरक्षाका चुनौती बढ्दै गएको छ।

तर यहाँ रहेका कैदीलाई व्यवस्थित गर्नुको सट्टा उल्टै १४ कैदीबन्दी स्थानान्तरण गरी ल्याइएको छ। कारागार कार्यालय डडेलधुराका जेलर सन्तोष भट्टका अनुसार बैतडी कारागारबाट १४ जना कैदी हालसालै डडेलधुरा स्थानान्तरण गरिएको हो।

बैतडी कारागार जीर्ण भई अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेका कारण नयाँ भवन निर्माण गर्न कैदीबन्दीलाई अस्थायी रूपमा सारिएको कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताइन्।

उनका अनुसार पुरानो संरचना भत्काएर नयाँ भवन निर्माण गर्न कैदीलाई सुरक्षित स्थानमा राख्नु आवश्यक भएकाले विभिन्न जिल्लामा स्थानान्तरण गरिएको हो। डडेलधुरा कारागारमा कैदीहरूको संख्या बढ्दै गए पनि भौतिक संरचनामा केही सुधार गरिएको प्रशासनले बताएको छ। कारागारभित्र १६ वटा शौचालय रहेको तथा खानेपानीको व्यवस्थापन पनि नियमित रूपमा गरिएको जेलर भट्टले जानकारी दिए। उनले भीड बढे पनि आधारभूत आवश्यकताहरू उपलब्ध गराउन प्रयास भइरहेको बताए। 

यसअघि गत भदौ २४ गते बिहान कारागारमा सुरक्षा कमजोर देखिएको थियो। सो दिन ८५ जना कैदी एकै पटक फरार भएका थिए। कारागार प्रशासनका अनुसार भागेका मध्ये ८० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। तर अझै ५ जना फरार रहेका र उनीहरूका लागि प्रहरीले खोजी कार्य निरन्तर जारी राखेको भट्टले जानकारी दिए।

फरार घटना पश्चात् कारागारको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ र यस्ता घटना दोहोरिन नदिन आवश्यक कदमहरू चालिने कारागार स्रोतले जनाएको छ।

तर्कराज

Link copied successfully