तेडी निर्माण सेवाले धनगढी उपमहानगरमा दुई पुल र एउटा सडक, पूर्वाधार विकास कार्यालयका तीन वटा सडक र डोटीको केआइसिंह गाउँपालिकामा १० शय्याको अस्पताल भवनको काम अलपत्र छाडेको छ ।
What you should know
धनगढी — कैलालीको गोदावरी नगरपालिाकस्थित ओलानी सडकमा तीन किलोमिटर खण्ड कालोपत्र गर्ने योजनामा ०७९ चैतमा तेडी निर्माण सेवाले प्रदेश पूर्वाधार विकास कार्यालयसँग सम्झौता गर्यो ।
कम्पनीले तोकिएको समयमा काम नगरेपछि गत केही दिनअघि गोदावरी नगरपालिका–३ १०, ११ र १२ वडा कार्यालयहरुले विरोध स्वरुप सडकमै कार्यालय सञ्चालन गरे ।
धनगढी उपमहानगरपालिका–२ ठेगाना रहेको तेडी निर्माण सेवा प्रालि विभिन्न निर्माण योजनाको ठेक्का लिने, सम्झौतापछि पेस्की लिएर काम पूरा नगरी अलपत्र छाड्दै आएको छ । कैलाली र डोटीमा मात्रै यो कम्पनीले ७ वटा योजनाको काम वर्षौंदेखि अलपत्र छाडेको छ ।
तेडी निर्माण सेवाले धनगढी उपमहानगरमा मात्रै दुई वटा पुल र एउटा सडक, पूर्वाधार विकास कार्यालयका तीन वटा सडक र डोटीको केआइसिंह गाउँपालिकामा १० शय्याको अस्पताल भवनको काम अलपत्र छाडेको छ ।
गोदावरीको ओलानी–बाद्रेखाल सडक आयोजनामा उक्त कम्पनीले अढाई वर्षमा सम्पन्न गर्ने गरी ६ करोड ६१ लाख ४१ हजार २०६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म उक्त सडकमा सव–बेस मात्रै निर्माण भएको पूर्वाधार विकास कार्यालय प्रमुख दिपक नेगीले बताए । आउँदो चैतसम्म ठेक्का सम्पन्न गर्ने गरी आन्दोलित पक्ष र ठेकेदार बीच सम्झौता भएपछि अहिले काम सुरु गरेको नेगीले बताए ।
यसैगरी, शीतलपुर–सिमली सडक कालोपत्र गर्न २०७९ चैत्र १७ गते ६ करोड ८८ लाख ४० हजार ८२४ रुपैयाँमा पूर्वाधार विकास कार्यालय र उक्त कम्पनी बीच सम्झौता भएको थियो । उक्त कामका लागि २०८१ साउन १७ गतेसम्म म्याद दिइएको भए पनि हालसम्म १५ प्रतिशत मात्रै काम गरेको पूर्वाधार विकास कार्यालयका ईञ्जिनियर हर्क जोशीले बताए ।
उनले फागुनसम्म काम गर्ने प्रतिवद्धता जनाएकाले नाली निर्माण, सव-बेस, बेस र डिबिएटीको काम बाँकी रहेको बताए । यो ठेक्कामा कम्पनीले १ करोड ३४ लाख ८८ हजार ३०४ रुपैयाँ भुक्तानी लिएको छ । ‘तत्काल काम सुरु गर्न स्पष्ट निर्देशन दिएका छौं, तर अझै सुरु गरेको छैन । थपिएको फागुनसम्मको म्यादमा पनि काम पूरा नगरे थप पक्रिया बढाउँछौं,’ इन्जिनियर नेगीले भने ।
तेडी निर्माण सेवाले जेभीमा ठेक्का लिएको धनगढी उपमहानगरपालिका–६ सुकुटी नालामा दोघरा र जाली गाउँ जोड्ने पुल, धनगढी उपमहानगरपालिकाबाटै १६ मा रहेको भादा होमस्टे जाने बाटोमा पर्ने घुरहीमा पक्की पुल निर्माणको ठेक्का लिएको चार वर्षसम्म पनि कम्पनीले काम गरेको छैन । उपमहानगरपालिकासँग ०७८/७९ मा उक्त पुलको ठेक्का सम्झौता भएपछि १८ लाख २८ हजार पेस्की लिइसकेपछि ठेकेदार कम्पनी सम्पर्कविहीन भएको थियो ।
०७८ कात्तिक १५ गते धनगढी उपमहानगरपालिकाबाट ठेक्का लिएर काम नगरेपछि उपमहानगरपालिकाले तेडीको जमानत झिकेर जेभीमा रहेको तेज निर्माण सेवालाई काममा लगाएर पुल निर्माण गर्दैछ । ४ करोड १२ लाख २७ हजार २४८ लागत अनुमान रहेको उक्त पुल निर्माणको ठेक्का आधा रकममा कबोल गरी २ करोड २८ लाख ७२ हजार २७४ मा तेडीले सम्झौता गरेको थियो ।
धनगढी–१६ मा रहेको भादा होमस्टे जाने बाटोमा पर्ने घुरही खोलामा काठेपुल हटाएर पक्की पुल बनाउने ठेक्का पनि सोही मितिमा लिएको थियो । मित्र निर्माण सेवासँग जेभी गरेर ५ करोड ४० लाख ४१ हजार ५२८ लागत अनुमान रहेको उक्त पुलको ठेक्का तीन करोड २ लाख ५४ हजार ५१८ मा तेडीले लिएको थियो ।
ठेक्का सम्झौतापछि ३६ लाख रुपैयाँ पेश्की लिएको तेडीले काठेपुल भत्काई पक्की पुलको पाइल हाल्न जग खनेर अलपत्र छाडेको थियो । यो ठेक्काको काम पनि नगरेपछि जमानत झिकेर जेभीमा रहेको मित्रमार्फत काम गराइरहेको धनगढी उपमहानगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख ईञ्जिनियर द्विजराज भट्टले बताए । पटक पटक म्याद थप लिए पनि काम नगरेपछि तेडीलाई कारबाही गरी जेभीमा रहेको अर्को कम्पनीलाई काम गराएको उनले बताए ।
यसैगरी, ०७६/७७ मा धनगढी–१२ जुगेडामा नालीसहित सडक कालोपत्र गर्ने ठेक्कामा पनि तेडी निर्माण सेवाले ३९ लाख रुपैयाँ पेश्की लिएर काम नै नगरेपछि उपमहानगरपालिकाले ठेक्का तोडेको थियो । ठेक्का तोडेको भन्दै तेडीले जिल्ला अदालत गुहारे पनि उपमहानगरकै पक्षमा फैसला आएपछि अहिले जरिवाना तिरेर तेडीले नै उक्त सडक निर्माण गरिरहेको उपमहानगरपालिकाका इन्जिनियर राजु खड्काले बताए ।
सुदूरपश्चिम प्रदेश सरकार अन्तरगतको पूर्वाधार विकास कार्यालय कैलालीका तीन वटा सडक निर्माणको ठेक्का लिएको तेडीले दुई वटा ठेक्काको सम्झौमा अनुसार काम गरेको छैन ।
प्रदेश गौरबको भजनी छोटी भन्सार–खिमडी ठूलीगाड सडक अन्तरगत बौनिया बजार भन्दा उत्तर तीन किलोमिटर डिबिएटी गर्न, मालाखेती–ओलानी–फल्टुडे सडक अन्तरगत कृष्ण मन्दिरदेखि बान्द्रेखालसम्म सडक कालोपत्र र घोडाघोडी नगरपालिका–५ मा शितलपुर–सिमली सडक कालोपत्र गर्न ठेक्का लिएको थियो । त्यसमध्ये भजनी छोटी भन्सार–खिमडी ठूलीगाड सडकको काम जेभीमा रहेको केएस कन्स्ट्रसनबाट गराएर भर्खरै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
तेडी निर्माण सेवाले डोटीको केआईसिंह गाउँपालिकाको १० शय्याको अस्पताल भवन निर्माण समेत अलपत्र पारेको छ । २०७९ असोज २३ गते निर्माण सक्ने गरी २०७८ असार २३ गते गाउँपापालिकाले केएस–तेडी–मनिलेक जेभीलाई भ्याटसहित ८ करोड १५ लाख ७८ हजार रुपैयाँमा ठेक्का दिएको थियो । पटक पटक म्याद थप गरे पनि अस्पताल भवन निर्माण नभएपछि १० शय्याको अस्पताल सञ्चालन गर्ने योजना नै प्रभावित भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताए । तेडी निर्माण सेवा कम्पनीका सञ्चालक दिलबहादुर ओली हुन् । कम्पनीका योजना उनका छोरा सिद्ध ओलीले हेर्छन् । सिद्धले सम्झौता गरेर योजनाहरु अलपत्र पारेकोबारे प्रतिक्रिया दिन मानेनन् ।
