सुदूरपश्चिममा ४६ हजार मतदाता थपिए

प्रदेश निर्वाचन कार्यालयका अनुसार अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।

मंसिर ७, २०८२

रञ्जना बिसी

46,000 voters added in Sudurpaschim

What you should know

कैलाली — फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका नौ जिल्लाबाट ४६ हजार २० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यी मध्ये अनलाइनबाट २९ हजार ४३९ र निर्वाचन कार्यालयमै उपस्थित भएर १६ हजार ५८१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार कैलाली, कञ्चनपुर र बैतडीमा अन्य जिल्लाकाे तुलनामा बढी मतदाता थपिएका छन् ।  


कैलालीमा १८ हजार २१३, कञ्चनपुरका १२ हजार २९१, बैतडीमा २ हजार ६५२ र दार्चुलामा २ हजार ६२८ नयाँ मतदाता थपिएका छन् । यस्तै, डडेलधुरामा १ हजार ८९२, बझाङमा २ हजार ३४५, अछाममा २ हजार ६०४, डोटीमा १ हजार ८७८ र बाजुरामा १ हजार ५१७ गरी जम्मा ४६ हजार २० नयाँ मतदाताथपिएकाे प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले बताए ।  


यो सँगै सुदूरपश्चिम कुल मतदाता सङ्ख्या १७ लाख १५ हजार ४३१ पुगेको छ । ०७९ काे निर्वाचनमा प्रदेशमा मतदाताकाे सङ्ख्या १६ लाख ६९ हजार ४११ थियो । नयाँ दर्ता भएका मध्येयुवा उमेर समूहको सङ्ख्या धेरै रहेको कार्यालय प्रमुख भट्टले जानकारी दिए । 


उनकाअनुसार अहिले निर्वाचन कार्यालयहरुमा संकलित नामावली रुजु गर्ने कामसँगै निर्वाचनको तयारी पनि बढाइएको छ । ‘संकलितनामावली रुजु गर्ने, मतदाता सूची अद्यावधिक गर्ने तथा मतदान सामग्री व्यवस्थापन गर्ने काम निरन्तर छ, आगामी निर्वाचन व्यवस्थित बनाउन हामी पूर्ण रूपमा सक्रिय छौं,’ भट्टले भने ।

रञ्जना

Link copied successfully