शुक्रबारदेखि स्वास्थ्य निर्देशनालय, राजपुर डोटीमा सञ्चालित स्वास्थ्य क्षेत्रको एकीकृत वार्षिक समीक्षा कार्यक्रमको समापन सत्रमा १३ बुँदे राजपुर प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।
What you should know
डोटी — सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरूले १३ बुँदे साझा प्रतिबद्धता गरेका छन् ।
शुक्रबारदेखि स्वास्थ्य निर्देशनालय, राजपुर डोटीमा सञ्चालित स्वास्थ्य क्षेत्रको एकीकृत वार्षिक समीक्षा कार्यक्रमको समापन सत्रमा १३ बुँदे राजपुर प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, प्रादेशिक तथा जिल्लास्थित स्वास्थ्य निकाय, विकास साझेदार संस्थाहरू र स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको सहभागितामा तयार गरिएको प्रतिबद्धतापत्रमा प्रदेश सरकार अन्तर्गतका स्वास्थ्य निकायहरूको बेरुजु न्यूनीकरण गर्न आन्तरिक नियन्त्रण प्रणालीलाई थप सुधार गर्ने उल्लेख छ ।
उपचारमा खल्तीबाट हुने खर्च न्यून गर्न प्रत्येक जिल्लामा कम्तीमा ४० प्रतिशत व्यक्तिलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने, प्रदेश सरकारका सबै कर्मचारीहरूको स्वास्थ्य बिमा गर्न पहल गर्ने र आर्थिक रूपमा अतिविपन्न महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यका लागि ८८ वटै पालिकालाई प्रदेश कानुनबमोजिम सशर्त अनुदान दिने कानुनी व्यवस्था कार्यान्वयन गर्न पैरवी गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।
'प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य निकायहरूले उपलब्ध गराउनु पर्ने निःशुल्क औषधि तथा औषधिजन्य सामग्रीको वर्षभरि उपलब्धता सुनिश्चितता गर्ने,' प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्थानीय तहमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच बढाउन क्रमिक रूपमा प्रयोगशाला भएका रणनीतिक स्वास्थ्य चौकीमा टेलिमेडिसन/कन्सल्टेन्ट सेवालाई विस्तार गर्ने ।’
प्रतिबद्धतापत्रमा ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रमलाई विस्तार गर्ने, कुपोषण समस्याको शीघ्र पहिचान, निदान र उपचारका लागि स्क्रिनिङ गर्ने आयुर्वेद स्वास्थ्य केन्द्रहरूको भौतिक पूर्वाधार सुधार गर्नेलगायतका विषय समावेश गरिएका छन् ।
प्रतिबद्धतापत्र स्वास्थ्य क्षेत्रका सबै निकाय एवं व्यक्तिहरूले कार्यान्वयन गर्नुपर्ने सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताए ।
उनले चालु आर्थिक वर्षको वार्षिक समीक्षा कार्यक्रममा यस प्रतिबद्धता कार्यान्वयनको अवस्थाबारे समेत समीक्षा गरिने बताए ।
