चालु आर्थिक वर्षको पहिलो चार महिनामा डडेल्धुरामा २० वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २१ जना गम्भीर घाइते र २४ जना सामान्य घाइते भएका छन् ।
What you should know
डडेल्धुरा — पछिल्लो समय डडेल्धुरामा ट्राफिक नियमको खुलेआम उल्लंघन बढेको छ । स्थानीय सडकदेखि राजमार्गसम्म सुरक्षात्मक मापदण्ड पालना नगरी सवारीसाधन चलाइने गरेको छ ।
मोटरसाइकलमा तीन–तीन जना यात्रा गर्ने, हेलमेटबिना नै हिँड्ने, जिप तथा अन्य साना सवारी साधनमा क्षमताभन्दा बढी यात्रु हालेर जोखिमपूर्ण रूपमा गुडाइनेजस्ता गतिविधि बढ्दो छ । यस्तो क्रियाकलाप दोहोरिए पनि ट्राफिक प्रहरीले प्रभावकारी कदम नचालेको स्थानीयले आरोप लगाउँदै आएका छन्
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्गअन्तर्गतको स्याउले चोकमा रहेको यहाँको महत्त्वपूर्ण ट्राफिक पोस्टमा पनि चेकजाँच कमजोर भएको देखिन्छ । यो चेकपोस्टमा गाडी ‘इन्ट्री’ गराएरै जानुपर्ने नियम भए पनि पछिल्लो समय ट्राफिक प्रहरीले नै गाडी इन्ट्री गर्न लापरबाही गरेको पाइन्छ ।
केही समयअघिसम्म गति नियन्त्रणका लागि कायम गरिएको ‘टाइम–कार्ड’ प्रणाली पनि हटाइएपछि निगरानी झन् कमजोर बनेको छ । चेकजाँच अभावले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भास्कर चन्दका अनुसार स्याउलेस्थित ‘रिफ्रेस सेन्टर’ लामो दूरीका रात्रिकालीन सवारीका लागि विश्रामस्थलका रूपमा व्यवस्थापन गरिएको छ । तर, त्यहाँ पर्याप्त पिउने पानी तथा खाजा खानाको सेवा–सुविधा नहुँदा अधिकांश चालक र यात्रु गाडी नै नरोकी अगाडि बढ्ने गरेका छन् । स्याउलेमा ‘रिफ्रेस सेन्टर’ भनेर पटक–पटक सञ्चालन/उद्घाटन गर्ने गरिए पनि व्यवस्थित हुन सकेको छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक श्यामराज बोहरा दैनिक रूपमा राजमार्गमा सवारी चेकजाँच गर्ने गरेको दाबी गर्छन् । तर स्थानीय चालकलाई ट्राफिक कारबाही नगर्ने, हाइवे चेकिङका नाममा जरिवाना तिराउनकै लागि बस्ने कार्यशैलीबारे आलोचना हुने गरेको छ । हालैको जेनजी आन्दोलनपछि ट्राफिक व्यवस्था कमजोर भएको देखिएको छ । यद्यपि, यहाँ जेनजी आन्दोलनका क्रममा प्रहरीका युनिटहरूमा कुनै पनि क्षति भएको थिएन ।
चार महिनामा २० दुर्घटना, ७ जनाको मुत्यु
चालु आर्थिक वर्षको पहिलो चार महिनामा डडेल्धुरामा २० वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २१ जना गम्भीर घाइते र २४ जना सामान्य घाइते भएका छन् । ग्रामीण कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र सुरक्षा सचेतना अभाव दुर्घटनाका मुख्य कारण मानिएका छन् ।
उक्त अवधिमा ६१२ सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । चालक अनुमति-पत्रबिना सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र अन्य नियम उल्लंघन गर्नेबाट ४ लाख ४२ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा बढी जिप/कार रहेका छन् ।
