बैतडीमा मिनी ब्लड बैंक स्थापना हुने

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीको सहयोगमा मिनी ब्लड बैंक संचालन हुन लागेको हो ।

मंसिर ३, २०८२

मोहन चन्द

Mini blood bank to be established in Baitadi

बैतडी — जिल्ला अस्पताल बैतडीमा बिरामीलाई रगत आवश्यक परेमा सेना र प्रहरीलाई गुहार्नुपर्ने अवस्था छ । रगतको यही अभाव अन्त्य गर्न जिल्ला अस्पताल बैतडीमा ब्लड बैंक स्थापना गर्न लागिएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको संयोजकत्वमा सरोकारवालासहित बसेको बैठकले बैतडीमा बल्ड बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी, दशरथचन्द नगरपालिका र जिल्ला अस्पताल बैतडीको सहयोगमा मिनी ब्लड बैंक संचालन हुन लागेको हो । ब्लड बैंकका लागि आवश्यक जनशक्ति नगरपालिकाले व्यवस्थापन गर्नेछ । जनशक्तिलाई आवश्यक तालिम लगायत स्रोत साधनको व्यवस्थापन रेडक्रसले गर्ने गरी जिम्मेवारी तोकिएको छ । 

यस्तै ब्लड बैंकलाई आवश्यक पर्ने उपकरण, सामग्री र स्थानको व्यवस्थापन जिल्ला अस्पताल बैतडीले गर्ने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । ‘ब्लड बैंक संचालनका लागि सम्बन्धित निकायले जिम्मेवारी लिएका छन्,’ उनले भने, ‘अबको केही दिनभित्रै मिनी ब्लड बैंक संचालनमा ल्याउने गरी तयारी भइरहेको छ ।’ 

बैतडीमा जम्मा भएको तर खपत नभएको रगतलाई डडेल्धरा, धनगढी र कञ्चनपुरको बल्ड बैंकमा पठाउने निर्णयसमेत गरिएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully