गत असोज २४ गते विभिन्न माग राख्दै जेन–जी र जेन–वाई समूहले तालाबन्दी गरेका हुन् ।
What you should know
बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी भएको एक महिना बढी भएको छ । गत असोज २४ गते विभिन्न माग राख्दै जेन–जी र जेन–वाई समूहले तालाबन्दी गरेका थिए । गाउँपालिकामा तालाबन्दी हुँदा पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । त्यस्तै, स्वास्थ्य संस्थाहरुमा पनि औषधीको अभाव हुन थालेको छ ।
गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता को नवीकरण कै समयमा तालाबन्दी गरिएकाले अहिलेसम्म लाभग्राहीको खातामा जान सक्ने भत्ता नगएको पञ्जीकरण शाखा प्रमुख खेमराज अवस्थीले बताए । लाभग्राहीले भत्ता कहिले आउँछ भनेर फोन गरेकागर्यै छन्,’ उनले भने, ‘गाउँपालिकामामा ताला खुलेपछि मात्र कति जनाको नवीकरण भएको छ त्यसै अनुसार भत्ता वितरण गर्न हुन्थ्यो ।’
सामाजिक सुरक्षा भत्ता नवीकरण वडाबाट हुने भएकाले नवीकरण भइसकेको र पालिकामा कामकाज ठप्प भएकाले पालिकाबाट हुने काम नभएकाले भत्ता रोकिएको उनले बताए । यस्तै, तालाबन्दीकै कारण गाउँपालिका स्वास्थ्य केन्द्रमा औषधी अभाव हुन थालेको छ ।
गाउँपालिकाले औषधी खरिदका लागि गत असोज ९ गते टेन्डर आह्वान गरेको थियो । असोज २४ गतेदेखि गाउँपालिकामा तालाबन्दी भएपछि औषधी खरीद प्रक्रिया अगाडि बढ्न नसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । ‘स्वास्थ्य संस्थामा औषधी नहुँदा सेवाग्राहीहरुलाई रित्तो हात फर्काउनुपर्ने बाध्यता स्वास्थ्य संस्थाहरुको छ,’ उनले भने, ‘अहिलेसम्म ताला नलागेको भए औषधी खरिद प्रक्रिया अगाडि बढाएर खरिद भई आइसक्थ्यो ।’ पालिकामा मौज्दात भएको औषधी सकिएकाले स्वास्थ्य संस्थाहरुबाट माग भई आएका औषधी स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउन नसकिएको उनले बताए ।
स्वास्थ्य संस्थामा सिटामोल, बेटाडीन, गजपट्टी, आईरन चक्कीलगायतका अत्यावश्यक औषधीको अभाव हुन थालेको स्वास्थ्यचौकीका प्रमुखहरुले बताएका छन् ।
तालाबन्दीकै कारण पालिकाले प्रदान गर्ने अन्य सेवा पनि प्रभावित भएका छन् । आफूहरुका मागप्रति कार्यपालिकाको सिंगो टिम नै एकमत नभएकाले अहिलेसम्म आफ्ना मागहरु सम्बोधन नभएकाले ताला नखोलिएको जेन–जी र जेन–वाई समूहले जनाएका छन् । गाउँपालिकाले आफ्ना माग पूरा गरे तत्काल ताला खोल्ने जेन–जी र जेन–वाई समूहका अगुवा विशाल भट्टले बताए । कार्यपालिकामा नै दुई मत देखिएको र तिनलाई मिलाएर जेन–जी र जेन–वाई समूहका माग पूरा गर्नतिर आफू लागिपरेको गाउँपालिका अध्यक्ष अमर कुँवरले बताए ।
