दुर्घटनामा परी घाइते भएका आलिताल–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतको उपचारका क्रममा मृत्यु भएको हो।
डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिका–८ गोदाम बजारबाट बाहिरीसैनतर्फ जाँदै गरेको भे १ त ७८५४ नम्बरको ट्याक्टर शनिबार राति करिब १० बजे सडकबाट करिब पाँच मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका आलिताल–५ बाहिरीसैनका २७ वर्षीय भरत रावतलाई उपचारका लागि जोगबुढा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका छन् ।
ट्याक्टरमा चालकसहित पाँच जना सवार थिए । तीमध्ये १९ वर्षीय पवन बि.क. र २५ वर्षीय तिलक चोखाल जोगबुढा अस्पतालमा उपचाररत छन्। २४ वर्षीय सन्तोष रोकालाई भने थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक २७ वर्षीय योगेन्द्र घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
