राति २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका हुन् ।
कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोल्खरीमा बृद्ध दम्पतीमाथि कुटपिटसँगै गहना र नगद लुटपाट भएको छ ।
शनिबार राति चार/पाँच जनाको लुटेरा समूहले गहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका हुन् ।
बालीहरु तान्दा उनको कानको लोती समेत चुँडिएको छ । ‘दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख नगद लुटिएको भनेका छन्,’ जिल्ला प्रहरी कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘राति कोठामा बृद्ध दम्पती मात्रै थिए, उनीहरुमाथि कुटपिट पनि भएको रहेछ ।’
एसपी खत्रीका अनुसार पन्तका श्रीमान् ७८ वर्षीय उमापतिमाथि पनि लुटेराहरुले कुटपिट गरेका छन् । एसपी खत्रीले घटनाको अनुसन्धान र लुटेराहरुको खोजी भइरहेको जानकारी दिए ।
