अछाममा प्राविधिक शिक्षा संकटमा : अधिकांश विद्यालयका कार्यक्रम बन्द

सीटीईभीटीबाट मान्यता प्राप्त गरेर डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोम्याट्रिक्स इन्जिनियरिङ पढाइरहेको साँफेबगरस्थित जनकल्याण माविमा यही वर्षदेखि दुवै कार्यक्रम बन्द भएको प्राधानाध्यापक टेकबहादुर साउदले बताए ।

कार्तिक २७, २०८२

मेनुका ढुंगाना

Technical education in crisis in Achham: Most school programs closed

What you should know

अछाम — केही वर्षअघिसम्म अछामका गाउँगाउँमा प्राविधिक शिक्षा विस्तारको उत्साह देखिए पनि हाल अधिकांश विद्यालयमा प्राविधिक पढाइ बन्द भएको छ ।

सीटीईभीटी (प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्) बाट मान्यता प्राप्त गरेर जिल्लाका धेरै माध्यमिक विद्यालयले सिभिल इन्जिनियरिङ, कृषि र पशु विज्ञानजस्ता विषय पढाउन थालेका थिए । कार्यक्रम सुरु भएको केही वर्ष गाउँमै बसेर सीपमूलक शिक्षा प्राप्त गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गइरहेको थियो । तर अहिले धेरै विद्यालयमा ती कार्यक्रम बन्द भइसकेका छन् । कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा पनि विद्यार्थीको अभाव हुँदै गएको छ । 

सीटीईभीटीबाट मान्यता प्राप्त गरेर डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन जियोम्याट्रिक्स इन्जिनियरिङ पढाइरहेको साँफेबगरस्थित जनकल्याण माविमा यही वर्षदेखि दुवै कार्यक्रम बन्द भएको प्राधानाध्यापक टेकबहादुर साउदले बताए । 

योग्य शिक्षकको अभाव र दुर्गम क्षेत्रमा प्राविधिक विषय पढाउन सक्ने प्रशिक्षक बस्न नचाहने प्राविधिक कार्यक्रम बन्द गर्नुपरेको उनले बताए । ‘सिटीईभीटीले मान्यता मात्रै दिने हो । स्रोतको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुँदै गयो,’ प्रधानाध्यापक साउदले भने, ‘उपकरण र प्रयोगशालाका लागि आवश्यक बजेट नपुग्दा तालिम र व्यावहारिक पढाइमा समस्या आयो । विद्यार्थी संख्यामा आएको गिरावटले पनि यी कार्यक्रमलाई थप कमजोर बनाउँदै गयो । अन्त्यमा कार्यक्रम नै बन्द गर्नु पर्ने बाध्यता आयो ।’

प्राविधिक पढाइका लागि प्रयोगात्मक उपकरण, फिल्ड भ्रमण र तालिमका लागि सहयोग नपाउँदा विद्यालय समस्यामा परेको उनले बताए । ‘राम्रो विद्यार्थीहरू यहाँ बसेर पढ्नै चाहँदैनन् । बाहिरबाट पनि पढ्नका लागि आउँदैनन् । प्रशिक्षक समयमा नपाइने र पाइए पनि तलब दिन नसक्ने अवस्था आयो,’ उनले भने ।

साँफेबगर नगरपालिकाकाभित्र रहेका सूर्यचन्द्र मावि , प्रभा धम्कोट मावि , महेन्द्र मावि र बेतालमाण्डौं माविमा पनि प्राविधिक विषय पढाउन बन्द भएको साफेबगर नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिश भट्टले बताए ।

सीटीईभीटीबाट मान्यता प्राप्त गरेर डिप्लोमा इन सिभिल इन्जिनियरिङ पढाइरहेको मेल्लेख गाउँपालिका–६ शोडषामा रहेको नन्देश्वरी माविले पनि कार्यक्रम बन्द गरेको छ । विद्यालयका प्रधानाध्यापक पृथ्वीबहादुर रावलका अनुसार २०७६ सालमा प्राविधिक विषय पढाउन थालिएको विद्यालयमा प्रशिक्षक र विद्यार्थीको अभाव, स्रोत साधानको कमी लगायतका कारण दुई वर्षअघिदेखि प्राविधिक विषय पढाउन बन्द गरिएको हो । उनका अनुसार पढाइ सुरु भएको पहिलो वर्ष २४ जना, दोस्रो वर्ष १७ जना, तेस्रो वर्ष ८ जना र चौथो वर्ष ६ जना विद्यार्थी भर्ना हुन आएका थिए । ‘२०८० सालको शैक्षिक सत्रसम्म पनि भर्ना लिइरहेका थियौं । ६ जना विद्यार्थी मात्रै आए । त्यसपछि कार्यक्रम नै बन्द भयो,’ प्रअ रावलले भने । 

दुर्गम क्षेत्रमा प्राविधिक विषय पढाउन सक्ने प्रशिक्षक बस्न इच्छुक नहुदाँ विद्यालयले कक्षा सञ्चालन गर्न नसकेको उनले बताए । उनका अनुसार यसले प्राविधिक शिक्षा कार्यक्रमलाई दिगो बनाउनै नसक्ने अवस्था आएको हो ।

‘प्राविधिक विषय बढाउन बजेटको कमी अर्को समस्या हो । विद्यार्थी संख्यामा कमी पनि अर्को कारण हो । गाउँका विद्यार्थी पढ्नका लागि सहर जाने हुँदा प्राविधिक कक्षामा भर्ना पर्याप्त भएन । यसले विद्यालयहरूलाई कार्यक्रम सञ्चालनमा बाधा पुर्यायो,’ प्रअ रावलले भने, ‘सीटीइभीटीको पनि अनुगमनमा कमजोरी पनि देखिएको छ । प्रारम्भिक चरणमा अनुमति र समर्थन दिने, त्यसपछि निरन्तर अनुगमन र सहयोग नहुँदा विद्यालयले धेरै समस्या बेहोर्नु पर्यो । ’

प्रि–डिप्लोमा इन एग्रिकल्चर (प्लान्ट साइन्स) कार्यक्रम पढाइ हुने कमलबजार नगरपालिकाको जाल्पादेवी मावि ढाकुँ, तुर्माखाद गाउँपालिकाको कालिकेश्वरी माविमा पनि बन्द भएको छ । कृषि विषयमा डिप्लोमा तह कार्यक्रम पढाइ हुने बान्नीगढी जयगढ गाउँपालिकाको सरस्वती माविमा पनि बन्द भएको छ ।

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully