गत हप्ता पत्रकार बोहराले रिलुचौर माध्यमिक विद्यालयभित्र स्थानीयले यौनजन्य क्रियाकलाप गर्ने गरेको, युवाहरूले गाँजा लगायत लागूऔषध सेवन गरेको बारे भिडियो समाचार प्रसारण गरेका थिए ।
What you should know
बझाङ — मष्टा गाउँपालिका–६ को रिलुचौर माध्यमिक विद्यालयमा भएको बेथितिको समाचार लेखेको भन्दै पत्रकारमाथि कुटपिट भएको छ । सुशासन नेपाल नेटवर्कमा कार्यरत पत्रकार अनिल बोहरालाई बुधबार राती केही व्यक्तिले घरमै गएर ढुंगामुढा गर्दै कुटपिट गरेका हुन् ।
बोहराको टाउको, पिठ्यू, कम्मर र अनुहारमा चोटपटक लागेको छ । उनले स्थानीय विर्जन बोहरा, विकास बोहरा लगायतले आफूमाथि कुटपिट गरेको बताएका छन् । सोही वडाका वडाध्यक्ष शिवराज बोहराको योजनामा आफूमाथि कुटपिट र ढुंगामुढा गरिएको अनिलको आरोप छ ।
अनिललाई कुटपिट भएपछि प्रतिकारमा उत्रेको उनिलका परिवारका सदस्यले प्रहार गर्दा विर्जन बोहरा पनि घाइते भएको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
गत हप्ता पत्रकार बोहराले रिलुचौर माध्यमिक विद्यालयभित्र स्थानीयले यौनजन्य क्रियाकलाप गर्ने गरेको, युवाहरूले गाँजा लगायत लागूऔषध सेवन गरेको बारे भिडियो समाचार प्रसारण गरेका थिए । विद्यालयका कोठाभित्र गाँजा खाइरहेका केही युवा उनको भिडियोमा देखिन्छन् । भिडियोमा कक्षा कोठामा कण्डमका खोल र प्रयोग भएका कण्डम, तासका पत्ती छरिएको देखाइएको थियो ।
उक्त समाचार प्रसारण भएको केही दिनपछि विद्यालयले आयोजना गरेको अभिभावक भेलामा पनि वडाध्यक्ष बोहराले अनिललाई हातपातको प्रयास गरेका थिए । ‘त्यो समाचार प्रकाशन भएदेखि मलाई मार्ने भनेर धम्की दिने, चैनपुरमा म बस्ने कोठा वरिपरि केटाहरू ग्याङ पठाउने गरेकाले त्यहाँ बस्न नसकेर घर आएँ,’ अनिलले भने, ‘घरमा राती खाना खाइरहेका बेला एक्कासि घेरेर शिशा, ढुंगामुढा प्रहार गर्दै कुटपिट गरे ।’
वडाध्यक्ष बोहराले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको बताए । गाउँमा भएको सामान्य भनाभनमा हात हालाहाल भएको र अनिलका बुवाले प्रहार गर्दा अर्का व्यक्ति विर्जनलाई चोट लागेको उनको भनाइ थियो । ‘केही दिनदेखि आफैं लाइभ भिडियो बनाएर मलाई मार्न खोजे भन्दै गाउँको माहौल नै तनावग्रस्त बनाइरहेको थियो,’ उनले भने, ‘हिजो साँझ सामान्य हात हालाहाल भएको भन्ने सुनेको छु । विर्जन बोहरा घाइते भएर अस्पतालमा छ । भएको त्यति नै हो ।’
घटनाबारे जानकारी पाउने बित्तिकै राती नै प्रहरी पठाएको र यथार्थ बुझ्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । वडाअध्यक्ष पक्षले पत्रकार बोहराको परिवार खाना खाइरहेका बेला आक्रमण गर्दा अनिल घाइते भएको र अनिलको परिवारले प्रतिकार गर्दा विर्जन बोहरा घाइते भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्र धमलाले बताए ।
