अधिवेशनले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र लोक परम्पराको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको भूमिकाबारे छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ।
डडेलधुरा — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान डडेलधुराको अध्यक्षमा गायक सुधीर जैरु चयन भएका छन्। शनिबार डडेल्धुराको बसपार्कमा सम्पन्न प्रतिष्ठानको चौथो जिल्ला अधिवेशन तथा सातौं वार्षिक साधारण सभाले जैरुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
अधिवेशनले सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। प्रथम उपाध्यक्षमा रमेश मल्ल, द्वितीय उपाध्यक्षमा भानबहादुर विक (भास्कर), महिला उपाध्यक्षमा ममता भट्ट, सचिवमा धनबहादुर थापा मगर, कोषाध्यक्षमा धर्मा बोहरा, सहसचिवमा सूर्यप्रकाश धामी र सह–कोषाध्यक्षमा चन्द्र तिरुवा चयन भएका छन्। सदस्यहरूमा रितु ठगुन्ना, तारा क्षेत्री, अर्जुन चटौत, उषा पुनमगर, सुरत तमोली, खगराज शाह र मोहित विक रहेका छन्।
अधिवेशनले सुदूरपश्चिमको मौलिक कला, संस्कृति र लोक परम्पराको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानको भूमिकाबारे छलफल गर्दै आगामी कार्यदिशा तय गरेको छ। मुख्य अतिथि अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीले सुदूरपश्चिमको मौलिक पहिचान बोकेका लोक तथा दोहोरी गीतको संरक्षणमा प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्दै निरन्तरता दिन आग्रह गरे। प्रतिष्ठानका निवर्तमान अध्यक्ष धनिराम गिरीले आफ्नो कार्यकालमा भएका गतिविधि र उपलब्धिको समीक्षा गर्दै अधिवेशन सफल बनाउन सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे।
नवनिर्वाचित अध्यक्ष जैरुले आफ्नो कार्यकालमा लोक तथा दोहोरी गीतका स्रष्टाहरूको हकहितमा काम गर्दै नयाँ प्रतिभा पहिचान, संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाए।
