भागेश्वर मन्दिर परिसरमा लाग्ने वैकुण्ठ चतुर्दशी मेला धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
डडेल्धुरा — भागेश्वर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । कार्तिक १८ गते वैकुण्ठ चतुर्दशी मेलाको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार कार्तिक शुक्ल पक्ष वैकुण्ठ चतुर्दशीका दिन लाग्ने भागेश्वर मन्दिर, धुराको परम्परागत मेलाको अवसरमा उक्त दिन गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो ।
उक्त दिन गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका सबै काम बन्द रहने उल्लेख छ । बिदाको दिन गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था र मातहतका अन्य संघ–संस्था पनि बन्द रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।
भागेश्वर मन्दिर परिसरमा लाग्ने वैकुण्ठ चतुर्दशी मेला धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष हजारौं भक्तजनले धुरास्थित मन्दिरमा पुगेर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ ।
