सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो ।

कार्तिक १६, २०८२

रञ्जना बिसी

Far West Festival from Mangsir 22

कैलाली — मंसिर २२ देखि धनगढीमा ‘सुदूरपश्चिम महोत्सव–२०८२’ हुने भएको छ । यो महोत्सव १९ औं संस्करणको हो । 

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि, उद्योग, संस्कृति र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो । धनगढी-१ पशुपति टोलमा पुस २ गतेसम्म महोत्सव चल्ने संघका अध्यक्ष पुष्करराज ओझाले बताए ।  

उनले महोत्सवले सुदूरपश्चिमको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन र प्रविधिलगायतका लागि करिब ५ सय स्टल रहने आयोजकले जनाएको छ । तीमध्ये कृषिमा ४०, महिला उद्यमी, एकल महिला, स्थानीय परिकारलाई १५ गरी ५५ वटा स्टल निःशुल्क दिइने अध्यक्ष ओझाले जनाए । उनका अनुसार स्थानीय उत्पादन, महिला उद्यम र घरेलु उद्योगका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।

संघका अनुसार महोत्सवमा स्थानीय वस्तु, हस्तकला, कृषि उत्पादन, जडीबुटी, तरकारी, औद्योगिक सामग्री, घरेलु उपकरण, सौर्य ऊर्जा, विद्युतीय सवारी साधन, परम्परागत तथा आधुनिक सामग्रीको प्रदर्शन गरिनेछ । यसैगरी, थारू, राना थारूलगायत स्थानीय समुदायका सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारका प्रस्तुति, बालबालिकाका मनोरञ्जनात्मक खेलकुदसमेत महोत्सवको आकर्षण हुनेछन् । महोत्सव अवधिभर करिब ७ लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । 

महोत्सव व्यवस्थापनका लागि आयोजकसहित २३ उपसमिति गठन गरिएको छ । अध्यक्ष ओझाका अनुसार महोत्सवस्थलमा सुरक्षाको दृष्टिले सम्पूर्ण तयारी पूरा गरिएको संघले जनाएको छ । महोत्सवमा विद्यार्थी र खेलाडीलाई ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकलाई निःशुल्क र सर्वसाधारणलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्ने सुदूरपश्चिम महोत्सव यस वर्ष अझ प्रभावकारी र सहभागीमूलक बनाउन व्यापक तयारी गरेको जनाएको छ । अध्यक्ष ओझाका अनुसार तीन करोड लगानीमा आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । 

रञ्जना बिसी

Link copied successfully