डडेल्धुरा सार्वजनिक पुस्तकालय पुस्तक मात्र नभई ऐतिहासिक सामग्रीको संरक्षण गर्ने थलोका रूपमा पनि विकसित हुँदैछ । पुस्तकालय स्थापना गर्नुको अर्को उद्देश्य भनेकै पुराना डोटेली राज्यकालदेखि पुर्खाहरूले प्रयोग गरेका सामग्रीको संरक्षण र जगेर्ना गर्नु पनि हो ।
What you should know
डडेल्धुरा — डडेल्धुरा सदरमुकाममा रहेको डडेल्धुरा सार्वजनिक पुस्तकालय पछिल्लो समय प्रविधिको विकाससँगै पाठकको आकर्षण गुमाउँदै गएको छ । हातहातमा मोबाइल र डिजिटल सामग्रीको सहज पहुँचले गर्दा पुस्तकालयमा आउने पाठकको संख्या घट्दै गएको छ । यद्यपि, पठन संस्कृतिको जगेर्ना र पुस्तकालयलाई पुनः सक्रियता कायम राख्ने उद्देश्यले पुस्तकालयले विविध कार्यक्रम तथा गतिविधिलाई प्राथमिकता दिँदै आएको छ ।
डडेल्धुरा सार्वजनिक पुस्तकालयको स्थापना २०६१ सालमा भएको हो । त्यसबेला अध्ययन गर्ने इच्छा राख्ने विद्यार्थीका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले पुस्तकालय सुरु गरिएको पुस्तकालयका अध्यक्ष गजेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार यहाँका नागरिकमा पढ्ने बानीको विकास गराउने लक्ष्यसहित पुस्तकालय स्थापना गरिएको हो ।
पुस्तकालयले हरेक महिनामा कम्तीमा एउटा कार्यक्रम गर्ने लक्ष्यसहित वार्षिक कार्ययोजना तयार पारेको अध्यक्ष शाहीले बताए । उनका अनुसार पुस्तकालयप्रति आकर्षण बढाउन भलिबल, क्रिकेटजस्ता खेलकुद कार्यक्रम र शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ । तर पुस्तकालयले भनेजस्तो मासिक रूपमा कार्यक्रम भने हुँदैन ।
डोटेली साहित्यको प्रवर्द्धनमा पुस्तकालय सक्रिय रहेको र डोटेली साहित्यमा पुस्तक प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आएको पनि अध्यक्ष शाहीले बताए । पठन संस्कृतिको विकासका लागि यहाँका विद्यालय स्तरीय विविध कार्यक्रम, श्रष्टा पहिचान तथा साहित्यिक गोष्ठी गर्ने गरेको अध्यक्ष शाहीले बताए ।
डडेल्धुरा सार्वजनिक पुस्तकालय पुस्तक मात्र नभई ऐतिहासिक सामग्रीको संरक्षण गर्ने थलोका रूपमा पनि विकसित हुँदैछ । अध्यक्ष शाहीका अनुसार पुस्तकालय स्थापना गर्नुको अर्को उद्देश्य भनेकै पुराना डोटेली राज्यकालदेखि पुर्खाहरूले प्रयोग गरेका सामग्रीको संरक्षण र जगेर्ना गर्नु पनि हो ।
डडेल्धुरा सार्वजनिक पुस्तकालयको आफ्नै भवन छ । कार्यालयमा दुई जना कर्मचारी कार्यरत छन् । सो भवनका केही सटर व्यापारिक प्रयोजनका लागि भाडामा दिइएका छन् । बाँकी कोठामा पुस्तकालय, डोटेली संग्रहालय, मिटिङ हल, कार्यालय आदि सञ्चालनमा छन् ।
पुस्तकालयका कार्यालय प्रमुख पुष्कर देउवाका अनुसार अहिले पुस्तकालयमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायत प्रतियोगी परीक्षाको तयारी गरिरहेका केही सीमित पाठक मात्रै दोहोरिइरहन्छन् । पाठक कम हुनुमा बजार सानो हुनु र पाठक संख्या कम हुनु पनि एउटा कारण भएको उनी बताउँछन् । ‘आजभन्दा एक दशकअगाडि दैनिक १५ देखि २० जना पाठक पुस्तकालयमा आउँथे, अहिले भने दिनमा दुई–तीन जना मात्रै फ्याट्टफुट्ट देखिन्छन्,’ उनले भने, ‘स्मार्टफोन र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले पाठकको चासो घटेको देखिन्छ ।’
हाल पुस्तकालयमा धार्मिक, साहित्यिक, कानुनी, अंग्रेजी साहित्य, लोकसेवा तयारी, शिक्षक सेवा तयारीसम्बन्धी सामग्रीसहित १० हजारभन्दा बढी पुस्तक छन् । यस्तै, पुस्तकालयमा आफ्नै इन्टरनेट प्रणालीको ‘लाइब्रेरी प्रोटोकल’ मार्फत तीन लाखभन्दा बढी डिजिटल पुस्तक अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ ।
पुस्तकालयमा आउने पाठकका लागि अध्ययन पूर्ण रूपमा निःशुल्क छ । साथै, आफूलाई मन परेको किताब घर लगेर अध्ययन गर्न पाउने तर निश्चित अवधिमा फिर्ता गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । गत वर्ष मात्र पुस्तकालयमा साढे दुई लाख रुपैयाँ बराबरका नयाँ पुस्तक थपिएको कार्यालय प्रमुख देउवाले बताए । उनले हाल पुस्तकालयमा सहयोगी दाताहरूको सहयोगबाट पनि नयाँ पुस्तक ल्याउने काम भइरहेको जानकारी दिए ।
कार्यालय प्रमुख देउवाका अनुसार भाडाबाट वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुने गर्छ । सो रकम पुस्तकालयका कर्मचारीको तलब, कार्यक्रम सञ्चालन, विद्युत्, सरसफाइ लगायतका काममा खर्च गरिन्छ ।
डडेल्धुरा सार्वजनिक पुस्तकालयले सीमित स्रोत र घट्दो पाठक संख्याबीच पनि पठन संस्कृतिको पुनर्जागरणका लागि प्रयास जारी राखेको छ । तर, डिजिटल माध्यमको बढ्दो प्रभाव, बजारको सानो आकार र युवाहरूको चासो घट्नुले यस संस्थाको उद्देश्यलाई चुनौती दिइरहेको छ ।
यस्तो अवस्थामा पुस्तकालयको महत्त्वलाई पुनःस्थापित गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक र समुदायले सघाउने हो भने डडेल्धुरा सार्वजनिक पुस्तकालय पुनः जीवन्त बन्न सक्ने देखिन्छ ।
