यसै सातामात्रै अनलाइन ठगीसम्बन्धी तीनवटा उजुरी आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले बताए ।
डोल्पा — हिमाली जिल्ला डोल्पामा अनलाइन ठगी बढेको छ । अघिल्लो आर्थिक वर्षमा एउटा मात्र उजुरी परे पनि अहिले लगातार उजुरी आउन थालेका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पामा विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गरेको उजुरी आउन थालेपछि दुर्गम क्षेत्रका नागरिक निशानामा परेको प्रहरीले जनाएको छ ।
यसै सातामात्रै अनलाइन ठगीसम्बन्धी तीनवटा उजुरी आएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक रुकबहादुर खड्काले बताए । उनका अनुसार अहिले सहरिया क्षेत्रका नागरिक धेरै सचेत छन्, त्यही भएर पनि अनलाइन ठगीको निशानामा ग्रामीण भेगमा बसोबास गर्ने सर्वसाधारणलाई पारेको देखिन्छ ।
‘प्रहरीकहाँ आएका तीनवटा निवेदनअनुसार कुल चार लाख रकम ठगी भएको देखिन्छ, त्यसमा विद्यार्थीदेखि कर्मचारी ठगिएका छन्, अघिल्लो आर्थिक वर्षमा मात्रै १० लाख अनलाइन ठगी भएको एउटा उजुरी आएको थियो, त्यो निवेदन सीआईबीमा पठाइसक्यौं,’ उनले भने ।
‘ह्वाट्स एप, भाइबर, फेसबुकजस्ता सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न प्रलोभनमा पारेर ठगी भइरहेको छ, त्यसको निशानामा सोझासाझा सर्वसाधारणलाई पारिएको छ, डोल्पामा यस्ता प्रकृतिका ठगी नयाँ नै हुन् ।’
डोल्पामा इन्टरनेटको प्रयोग गरी यस प्रकारका घटना दिन प्रतिदिन बढ्न थालेकाले जिल्लाबासीलाई सचेत रहन डीएसपी खड्काले आग्रह गरे ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन जिल्लाका सरोकारवालासँग छलफल गर्नुका साथै सबै प्रहरी युनिटहरूमार्फत सचेतनासमेत अपनाइने उनले बताए ।
