तिहारको दिनदेखि बेपत्ता विष्ट मृत फेला

तिहारको दिन (बिहीबार) दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनी हिँडेका विष्ट शुक्रबार मृत फेला परेका उनले बताए ।

कार्तिक ८, २०८२

मोहन चन्द

Bista, missing since Tihar, found dead

बैतडी — बैतडीको पाटन नगरपालिका–६ सुकेलीका बेपत्ता भएका अन्दाजी ५८ वर्षीय प्रेमसिंह विष्ट मृत फेला परेका छन् ।

मृत फेला परेका विष्ट तिहारको दिनदेखि बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूले बताए ।

तिहारको दिन (बिहीबार) दिउँसो ४ बजेतिर घरबाट सिउडे जान्छु भनी हिँडेका विष्ट शुक्रबार मृत फेला परेका उनले बताए ।

बिहीबार अबेरसम्म घर नफर्केपछि घरपरिवारले विष्टको खोजीका लागि ईलाका प्रहरी कार्यालय पाटनमा खबर गरेका थिए । खोजी गर्दै जाँदा दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ अन्नाडी मोडबाट करिब एक सय मिटर तल विष्टको शव फेला परेको हो ।

विष्टले चलाएको सुपप्र ०१–०११ प ७१५१ नम्बरको मोटरसाइकल पनि सडकबाट तल खसेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक बडूले बताए । 

मृतकले चलाएको मोटरसाइकल सँगै फेला परेकाले उनको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully