बझाङमा सामूहिक कुटपिटबाट युवकको मृत्यु

कुटपिटबाट गम्भीर घाइते भएका अभिशेकको बझाङमा उपचार हुन नसके पछि धनगढी लगिएको थियो ।

कार्तिक ४, २०८२

वसन्तप्रताप सिंह

Youth dies after being beaten up in Bajhang

बझाङ — नेपाली सेनाका जवानसहितका स्थानीय युवाकाे कुटपिटबाट घाइते भएका युवककाे मृत्यु भएको छ ।

स्थानीय युवककाे समूहबाट कुटपिट भएका जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाकाे साेमबार मृत्यु भएकाे हाे ।

आइतबार राति गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगितामा भएको विवादको विषयलाई लिएर भएको भनाभनमा उनलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

घरबिदामा आएका सेनाकाे ईन्द्रध्वज गण सिन्धुपाल्चोकमा कार्यरत सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ । 

कुटपिटबाट गम्भीर घाइते भएका अभिशेकको बझाङमा उपचार हुन नसके पछि धनगढी लगिएको थियो । धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको थियो । ‘गत वर्ष भलिबलमा भएको विवाद र अरु पुरानो रिसइबीका कारण कुटपिट भएको देखिन्छ,' जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी खगेन्द्र धमलाले भने, ‘लठ्ठीले टाउकोमा प्रहार गर्दा मृतकलाई गम्भीर चोट लागेको रहेछ ।' कुटपिट गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

काठमाडाैंमा अध्ययनरत मृतक अभिशेष तिहार बिदामा घर आएको आफन्तहरुले जानकारी दिए ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully