डोटीको पुर्वीचौकी गाउँपालिकामा तालाबन्दी

युवाहरुले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपती खड्कालगायत विभिन्न ५ जना वडा अध्यक्षहरु, एक जना कर्मचारी र दुई जना सेवाग्राहीहरु भित्रै थुनिएको गाउँपालिकाका अध्यक्ष उपाध्यायले जानकारी दिए ।

आश्विन २९, २०८२

मोहन पनेरु

Lockdown in Purvichowki Rural Municipality of Doti

What you should know

डोटी — डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । पूर्वीचौकी गाउँपालिका युवा समाजले विभिन्न ४७ बुँदे माग राख्दै मंगलबार गाउँपालिकामा सुझाव पेस गरेको तर आजसम्म कुनै निष्कर्ष नआएपछि बुधबार दिउँसो २:४० तिर तालाबन्दी गरिएको हो ।

युवाहरुले बाहिरबाट तालाबन्दी गरेपछि गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपती खड्कालगायत विभिन्न ५ जना वडा अध्यक्षहरु, एक जना कर्मचारी र दुई जना सेवाग्राहीहरु भित्रै थुनिएको गाउँपालिकाका अध्यक्ष उपाध्यायले जानकारी दिए ।

'पुर्वीचौकी गाउँपालिकाको समीक्षा तथा सुझाव बैठकमा प्रस्तुत प्रतिवेदन' भनेर तयार पारिएका ४७ बुँदे मागहरुमा कुनै पनि युवाहरुको हस्ताक्षर नरहेको र कुनै औपचारिक लेटरप्याड पनि नरहेको गाउँपालिकाका अध्यक्ष उपाध्यायले बताए ।

युवाहरुसँग हिजोदेखि आजसम्म पनि छलफल भएको तर समाधान नआएको बताइएको छ ।

यता युवाहरुका मागबारे निकै लामो छलफल भए पनि कुनै समाधान नआएपछि कामकाज गर्न असहज भएको भन्दै गाउँपालिकाका कर्मचारीहरुले पालिका र सम्पूर्ण वडाहरुमा समेत दैनिक सरकारी कामकाज अर्को सूचना नआउँदासम्मका लागि स्थगन गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । वातावरण असहज भएपछि आफूहरुले कामकाज स्थगन गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीप्रसाद जोशीले बताए ।

गाउँपालिकाको लागि विनियोजित १२ करोड रुपैयाँ र हस्पिटलका लागि विनियोजित १० करोड ९५ लाख रुपैयाँको विस्तृत विवरण पेस गर्नुपर्ने, उक्त रकमको भेरिएसन के कसरी भएको हो प्रमाणसहित पेस गर्नुपर्ने, जलवायु अनुकूलनको १ करोड २० लाख रुपैयाँ कहाँ र कसरी प्रयोग भयो, त्यसको प्रमाण पेस गर्नुपर्ने, सिंचाइ योजना अनावश्यक ठाउँमा निर्माण गरिएको र प्रयोगविहीन रहेको अवस्थामा त्यसको कारण दिनुपर्ने, पानी नहुँदाको अवस्थामा पनि खानेपानी योजना सम्पन्न गरी बिल भुक्तानी गरिएको र धारामा पानी नआएको कारण दिनुपर्ने, पालिकाको हालै भएको फर्निचर खरिदमा भ्रष्टाचारको आशंका रहेकाले खरिद मापदण्ड, मूल्यांकन र बिल विवरण दिनुपर्ने, २०७९ सालमा पुर्वीचौकी केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा नेपाल सरकारबाट आएको रकम, प्रयोगको अवस्था, वास्तविक पीडितले पाए नपाएको लगाएत स्पष्ट प्रमाण दिनुपर्ने युवाहरुका माग छन् ।

युवाहरुका सुझाव तथा मागहरुमा गाउँपालिकाको सुशासनलाई जोड दिइएको छ । तर ४७ बुँदे माग राख्ने युवाहरुमा औपचारिक रुपमा कसले नेतृत्व गरेका छन् र को को हुन् भन्ने खुलेको छैन ।

गाउँपालिकामा तालाबन्दी भएको विषय आफूलाई जानकारीमा आएपछि समाधानका लागि गाउँपालिकासँग समन्वय भैरहेको डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

तालाबन्दी भएपछि गाउँपालिकामा स्थानीय सानागाउँ प्रहरी चौकीका प्रहरीसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट समेत प्रहरी टोली सुरक्षामा खटाईएको बुझिएको छ ।

सोही गाउँपालिकाको वडा नं. ६ मा पनि युवाहरुले तालाबन्दी गरेका छन् ।

मोहन

Link copied successfully