जनप्रतिनिधिहरूको असन्तुष्टिबीच सभाबाट बजेट पास भएका यी दुई स्थानीय तहका वडाध्यक्षहरूले सिलिङ अनुसार योजना बाँडफाँटकाे सूची अहिलेसम्म बुझाएका छैनन् ।
What you should know
बैतडी — बैतडीका दुई स्थानीय तहले जनप्रतिनिधिहरूको असन्तुष्टिका कारण पूर्ण बजेट ल्याउन सकेका छैनन् । जिल्लाका १० स्थानीय तहमध्ये सूर्नया गाउँपालिका र मेलौली नगरपालिकाले आर्थिक वर्षको तेस्रो महिना बित्न लाग्दा पनि योजना छनोट र बजेट बाँडफाँट गरी सार्वजनिक गर्न सकेका छैनन् ।
पालिकाहरूको उपभोक्ता समिति गठन, संचालन तथा व्यवस्थापन कार्यविधि २०७५ को परिच्छेद ३ मा आर्थिक वर्ष सुरु भएको ३० दिनभित्र उपभोक्ता समितिबाट संचालन हुने आयोजना, परियोजना र कार्यक्रम पहिचान र छनोट गरी कार्यान्वयन योजना बनाउनु पर्ने उल्लेख भए पनि यी दुई स्थानीय तहले असोज सकिन लाग्दासम्म योजना छनोट नै टुंग्याएका छैनन् ।
जनप्रतिनिधिहरूको असन्तुष्टिबीच सभाबाट बजेट पास भएका यी दुई स्थानीय तहका वडाध्यक्षहरूले सिलिङ अनुसार योजना बाँडफाँटकाे सूची अहिलेसम्म बुझाएका छैनन् । सूर्नया गाउँपालिकाका ८ वटा वडामध्ये तीन वडाले मात्रै प्राप्त सिलिङ अनुसार योजना बाँडफाँट गरेर गाउँपालिकामा बुझाएका छन् । अरू ५ वडाले सूची बुझाउन बाँकी रहेको पालिका अध्यक्ष अमरबहादुर कुँवरले बताए ।
आफूहरूले एकमुष्ट बजेट नराख्न माग गर्दा पनि अध्यक्ष र उपाध्यक्षबाट सुनुवाइ नभएकाले अहिलेसम्म वडाबाट योजना बाँडफाँट गरेर पालिकामा नबुझाएको सूर्नया ४ का वडाध्यक्ष प्रताप महराले बताए । गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षले एकमुष्ट बजेट राखेर आफूअनुकूल योजना बाँड्ने गरेको उनको आरोप छ ।
मेलौली नगरपालिकामा रहेका ९ वडामध्ये २ वडाले असन्तुष्टि जनाउँदै योजनाको बजेट बाँडफाँट सिलिङ नगरपालिकामा नबुझाएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले बताइन् । योजना तर्जुमा बैठक र विषयगत बैठक नबसी कार्यपालिका सदस्यहरूलाई झुक्याएर ल्याएको बजेटको विरोध स्वरूप अहिलेसम्म प्राप्त सिलिङ अनुसार योजना बाँडफाँट नगरेको मेलौली-९ का वडाध्यक्ष लोकराज भट्टले बताए ।
यस्तै कार्यपालिकाको सहमतिमा बजेट ल्याएको डिलासैनी गाउँपालिका र पुर्चौडी नगरपालिकाका वडा जनप्रतिनिधिको ढिलासुस्तीका कारण अहिलेसम्म योजनामा बजेट बाँडफाँट गरेर पालिकामा बुझाएका छैनन् ।
दशरथचन्द नगरपालिका र दोगडाकेदार, शिवनाथ, सिगास, पञ्चेश्वर गाउँपालिले सबै वडाले ताेकिएकाे सिलिङ अनुसार योजनामा बजेट बाँडफाँट गरेर पालिकाको वेबसाइटमा राखेका छन् । पाटन नगरपालिकाले भने वडाबाट योजना अनुसार बजेट बाँडफाँट गरेको सूची प्राप्त भएर बजेट पुस्तिका तयार भइरहेकोे जनाएको छ ।
अहिलेसम्म शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाले मात्र उपभोक्ता समिति गठन प्रक्रिया अगाडि बढाएको जनाएका छन् । कात्तिक १५ गतेभित्र सबै योजनाको उपभोक्ता समिति गठन गरिसक्न सबै वडालाई पत्र पठाइएको शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताए । यस्तै पञ्चेश्वर गाउँपालिकाले पनि कात्तिक १५ भित्रै उपभोक्ता समिति गठन गरिसक्न सूचना नै प्रकाशित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीले बताए ।
