शुक्लाफाँटामा खुल्यो जंगल सफारी

बर्खायाममा बाटो बिग्रिएपछि असार तेस्रो सातादेखि सफारी बन्द गरिएको थियो । बाटो बिग्रेका कारण जंगलमै गाडी फसेर उद्धार गर्नुपर्ने अवस्था आएपछि सफारी बन्द गरिएको हो ।

आश्विन २६, २०८२

भवानी भट्ट

Jungle Safari opened in Shuklaphanta

What you should know

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबारदेखि जंगल सफारी खुला गरिने भएको छ । बर्खायामका बेला बन्द रहेको सफारी बाटो मर्मत गरेर खुला गरिन लागेको हो ।

अहिले निकुञ्जको कार्यालय मझगाउँबाट रानीताल हुँदै सिंहपुरसम्म र मझगाउँबाट बर्कौलासम्म मात्रै सफारी गर्न सकिने भएको छ । तर निकुञ्जको प्रमुख आकर्षण शुक्लाफाँटा घाँसे मैदानसम्म भने सफारी सुचारु हुन सक्ने छैन । 

‘दुवैतर्फको बाटोमा ठूलठूला खाल्डाखुल्डी छन्, तत्काल फाँटासम्मै सफारी गर्न सकिने छैन,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘अहिले उक्त क्षेत्रमा जेसीबी लगाएर मर्मतको काम भइरहेको छ ।’ उनले तिहारअगावै सफारीका सबै बाटो खुला गर्ने लक्ष्य राखिए पनि बर्खामा बाटो धेरै बिग्रेकाले समस्या भएको हो ।

५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको विशाल घाँसे मैदान बाह्रसिंगाको बासस्थान हो । यहाँ हजारौंको संख्यामा बाह्रसिंगा चरिरहेका देखिन्छन् । पछिल्लो गणना अनुसार निकुञ्जमा २३ सय बढी बाह्रसिंगा छन् । निकुञ्जमा सफारी गर्नेको रोजाइमा घाँसे मैदान अनिवार्य पर्ने गरेको छ । घाँसे मैदान मझगाउँट करिब २९ किलोमिटर दक्षिणमा पर्छ । 

बर्खायाममा बाटो बिग्रिएपछि असार तेस्रो सातादेखि सफारी बन्द गरिएको थियो । बाटो बिग्रेका कारण जंगलमै गाडी फसेर उद्धार गर्नुपर्ने अवस्था आएपछि सफारी बन्द गरिएको हो । गत आर्थिक वर्षमा निकुञ्जमा ३ हजार ७ सय २२ जना पर्यटक शुक्लफाँटा प्रवेश गरेका थिए । 

‘सकभर तिहारअगाडि नै सबै रुट खुला गरिनेछ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘एक/दुई ठाउँमा बाटो भत्केर खोला नै बगेको छ, उक्त बाटो मर्मतमा समय लाग्ने देखिन्छ ।’ उनले दुवै रुटमा सडक मर्मतका लागि दुईवटा जेसिबीले काम गरिरहेको बताए । 

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्ज बाह्रसिंगासँगै बाघ, गैंडा, हात्ती, कृष्णसार र चित्तल लगायतका वन्यजन्तका साथै विशाल घाँसे मैदान, तालतलैया, चराचुरुंगी लगायतका कारण आकर्षक मानिन्छ । यहाँ पछिल्लो गणना अनुसार ४३ वयस्क बाघ, २३ गैंडा, ३ सय बढी कृष्णसार र ४० बढी जंगली हात्ती रहेका छन् । यसबाहेक चरा अवलोकनका लागि पनि निकुञ्ज महत्त्वपूर्ण मानिन्छ । शुक्लाफाँटामा मात्रै पाइने सुनौलो तोपचरा लगायत ४ सय ६५ प्रजातिका चरा यहाँ छन् । 

‘शुक्लाफाँटा घुम्नका लागि धेरैले सम्पर्क गरिरहेका छन्, दसैंका बेला अझ बढी थिए,’ निकुञ्जमा पर्यटक घुमाउने काम गरिरहेका नेचर गाइड कुम ठाकुरले भने, ‘ढिलो गरी सफारी सुरु भयो, त्यो पनि फाँटासम्म पुग्न सकिने अवस्था छैन ।’ उनले तिहारअगावै बाटो मर्मत गर्न सके तिहारका बेला पर्यटकको चाप हुन सक्ने बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully