जिल्ला प्रहरी कार्यालयले शनिबार बरामद गरिएका ती पटाका आइतबार नष्ट गरेको जनाएको छ ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–३ महेन्द्रनगर बजार नजिकैबाट गोदाममा राखिएको अवस्थामा २९ लाख मूल्य बराबरका पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।
स्थानीय खडकबहादुर पालको घरमा राखिएको अवस्थामा विभिन्न खालका पटाका भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयले बरामद गरिएको पटाका आइतबार नष्ट गरेको छ ।
घरधनी पाललाईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए । उनका अनुसार बरामद गरिएको पटाका सामान्य विस्फोटक पदार्थमा पर्दछ ।
‘उक्त पटाका कहाँबाट आएको हो, कहाँ लैजाने तयारी थियो, त्यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘खुल्ला सीमाना भएका कारण भारतबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।’
मुलुकी संहिता २०७४ मा विस्फोटक पदार्थ सम्बन्धी ऐनको व्यवस्था गरिएको छ । उक्त ऐन अनुसार सामान्य विस्फोटक पदार्थको कारोबार तथा उत्पादन गरेमा ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना तोकिएको छ ।
