नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति

भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

आश्विन २४, २०८२

रञ्जना बिसी

Damage worth 95 lakhs in surveyor office Kailali

What you should know

कैलाली — भदौ २४ को प्रदर्शनका क्रममा आगजनी भएको नापी कार्यालय कैलालीमा ९५ लाख बराबरको क्षति भएको छ । ६५ लाख बराबरका दुई गाडी, एउटा मोटरसाइकल, कम्प्युटर, प्रिन्टर, स्क्यानर, दराज कुर्सीहरू जलेको कार्यालयले जनाएको छ । 

नापी कार्यालय कैलालीका प्रमुख जनकराज भट्टले कार्यालयका सबै अभिलेखहरू भने सुरक्षित रहेको बताए । ‘भौतिक र आर्थिक क्षति भए पनि नापीका सबै अभिलेखहरू सुरक्षित छन् । सेवाग्राही समस्यामा पर्ने अवस्था छैन,’ उनले भने । उनका अनुसार कार्यालयको नक्सा प्रिन्ट गर्ने कोठा आगलागीबाट बढी प्रभावित भएको हो । 

त्यसमा केही सामान्य कागजातहरू जले पनि महत्त्वपूर्ण डाटामा क्षति नपुगेको उनले बताए । भदौ २४ देखि बन्द भएको सेवा प्रवाह २ असोजबाट पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालय जनाएको छ । क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति विभागमा पठाएको र त्यहाँबाट सहयोग आए पुनः निर्माणको काम सुरु हुने कार्यालय प्रमुख भट्टले जानकारी दिए ।

मालपोत कार्यालयको सेवा पनि सञ्चालन

भूमिसुधार तथा मालपोत र नापी कार्यालय कैलालीको भवन सँगै जोडिएका छन् । आगलागीबाट नापीभन्दा मालपोतमा बढी क्षति पुगेको छ । यद्यपि मालपोतले पनि आफ्नो सबै काम सञ्चालन गरिसकेको छ । कार्यालयका सूचना अधिकारी दिलाराज भट्टका अनुसार असोज ७ देखि सेवा प्रवाह सुरु भइसकेको हो । 

आगलागीबाट कार्यालयका तीन वटा कोठामा पूर्ण क्षति पुगेको छ । रजिस्ट्रेसन फाँट, स्टोर फाँट र दर्ता चलानी फाँट प्रभावित भएका छन् । अन्य कोठाहरूमा पनि आंशिक क्षति भएको सूचना अधिकारी भट्टले जानकारी दिए । आगलागीबाट पूरै भवनको वायरिङ, नेटवर्किङमा पनि क्षति पुगेको थियो । 

लालपुर्जा केही मात्रामा जले पनि अन्य सबै विवरण सुरक्षित रहेका कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भौतिकतर्फ भवनमा क्षति, तीन वटा गाडी, दुई मोटरसाइकल, सबै कोठाका कम्प्युटर, स्क्यानर, प्रिन्टर नष्ट भएका छन् । यद्यपि विभिन्न ठाउँबाट कम्प्युटर, प्रिन्टर, वायरिङ लगायतको सहयोग पाएपछि काम सुरु भएको सूचना अधिकारी भट्टले जानकारी दिए । उनका अनुसार यो घटनापछि राजस्व सङ्कलनमा भने भारी गिरावट आएको छ ।

रञ्जना

Link copied successfully