दसैँको उमङ्ग छैन गाउँमा : किसानलाई बाली भित्र्याउने चटारो

यहाँका किसानलाई अहिले दसैँको रमाइलोभन्दा पनि यी खेतीपाती भित्र्याउने चटारो छ।

आश्विन १५, २०८२

मोहन चन्द

There is no enthusiasm for Dussehra in the village: Chataro to bring in the crops to the farmers

बैतडी — बैतडीका गाउँमा दसैँको चहलपहल छैन। किसानहरू खेतीपातीमा व्यस्त देखिन्छन्। किसानलाई दसैँभन्दा पनि बाली भित्र्याउने चटारो छ।

अहिले बैतडीका पाखा बारीमा मकै, कोदो, मकैसँग लगाएको पाखेधान, मादुरो, बाजुर र भटमास पाक्ने समय हो। पानीलाग्ने खेतमा भने कागुनो र जेठमा गरेको रोपाइँको धान पनि पाकेको छ।

यहाँका किसानलाई अहिले दसैँको रमाइलोभन्दा पनि यी खेतीपाती भित्र्याउने चटारो छ। दसैँका बेला पानी परेपछि बाली उठाउन थप ढिलाइ हुँदा कुहिने त्रासले किसानहरू खेतीपाती उठाउनमा व्यस्त बनेका छन्।

‘दसैँको रमाइलो दुई-तीन दिनमात्रै हो, यही दुईतीन दिनको रमाइलोले खेतीपाती भित्र्याउन छुट्यो भने वर्षभरि किनेरै खानुपर्ने अवस्था आउन सक्छ,’ मेलौली नगरपालिका–५ की किसान जन्तरा भट्टले भनिन्। ‘मकैका कोसा भाँचेर थन्क्याइसक्यौं, कोदो र बाजुर काट्न सुरु गरेका छौं,’ उनले भनिन्, ‘पानी परे पाकेको कोदो र बाजुर कुहिने हुनाले, भोक तिर्खा नभनी यिनै काट्नमा व्यस्त छौं।’

दसैँमा बाली थन्काउने बेला भएकाले गाउँमा दसैँको रौनक नदेखिएको शिवनाथ गाउँपालिका–२ का मदन साउदले बताए। ‘हाम्रो त पाखोबारी र खेत दुइटै भएकाले पाखोबारीको मकै, कोदो र सँगै खेतको धान पनि काट्नैपर्छ,’ उनले भने, ‘हामीलाई दसैँको कुनै अनुभूति नै छैन, दसैँ हुने खानेका लागि हो। हामी किसानको लागि दसैँभन्दा पनि लगाएको बाली राम्रोसँग भित्र्याउन पाए यही दसैँ हो।’

अर्का किसान लक्ष्मण चन्दलाई पनि दसैँको भन्दा पनि खेत जोत्ने चटारो छ। उनी पनि दसैँमा रमाउने हो भने पानी लाग्ने खेतमा गहुँको लागि जोत्न ढिलो हुने बताउँछन्। ‘अस्तिमात्रै धान चुटेर भित्र्याइसक्यौं,’ उनले भने, ‘अब खेत जोतेर पराल थन्क्याउनु पर्नेछ, रमाइलो गर्ने त फुर्सदनै छैन।’

बैतडीमा ३१,४८५ हेक्टर खेतीयोग्य जमिनमध्ये २५,७०० हेक्टरमा मात्र खेती गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्राविधिक मेहशदत्त पाण्डेले बताए। गत आर्थिक वर्षमा १३,८३८ मेट्रिक टन धान, १८,५८४ मेट्रिक टन मकै, ४८५ मेट्रिक टन कोदो र १८ मेट्रिक टन कागुनो उत्पादन भएको थियो। यस्तै, २३,९३१ मेट्रिक टन गहुँ र ९८९ मेट्रिक टन जौँ उत्पादन भएको कृषि ज्ञानकेन्द्र बैतडीको तथ्यांक छ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully