जेन-जी आन्दोलनका मृतक दीपकका परिवारले पाए १५ लाख

गृह मन्त्रालयबाट निकासा भएर प्राप्त रकम दीपकका बुबा कालु सिंह साउदको बैंक खातामा जम्मा गरिदिएको प्रमुख जिल्ला अधिकारीले बताए ।

आश्विन १४, २०८२

मोहन चन्द

The family of the deceased Deepak of Zen-G movement received 1.5 million

बैतडी — जेन–जी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका– २ का दीपक सिंह साउदका परिवारले सरकारले उपलब्ध गराएको राहत, क्षतिपूर्ति र किरिया खर्च पाएका छन् ।

यसअघि मृतकका परिवारलाई दिँदै आएको १० लाखमा ५ लाख थपेर एकमुष्ट १५ लाख दिने सरकारको निर्णयअनुसार सहिद दीपकका परिवारलाई रकम उपलब्ध गराएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

गृह मन्त्रालयबाट निकासा भएर प्राप्त रकम दीपकका बुबा कालु सिंह साउदको बैंक खातामा जम्मा गरिदिएको उनले बताए । 

एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा डेरा गरी कोरिया जाने तयारी गरिरहेका दीपक २४ गते प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारकै क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । 

‘भान्जालाई ऋण निकालेर पढाइरहेका थिए,’ दीपकका मामा भरत मडैले भने, ‘जे नहुनु थियो भइगयो, यति राहातले पनि त्यही ऋण तिर्न पुग्ला ।’

घर नजिकैको नागर्जुन माध्यमिक विद्यालय शर्मालीबाट बाली विज्ञान विषयमा कक्षा १२ पास गरेका दीपकले स्वदेशमा बसेर घरको आर्थिक अवस्था सुधार्न नसकिने देखेर कोरिया जाने योजना बनाएका थिए । उनी काठमाडौंमा कोरियन भाषा पढ्दै थिए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully