सडकमा सकियो दीपकको कोरिया जाने सपना 

भाद्र ३०, २०८२

मोहन चन्द

बैतडी — बैतडीको शिवनाथ गाउँपालिका–२ का १८ वर्षीय दीपकसिंह साउद एक वर्षदेखि काठमाडौंको कीर्तिपुरमा बसेर कोरियन भाषा सिकिरहेका थिए । गाउँघरमै मजदुरी र आफ्नो खेतीपाती गर्ने उनका बुवा कालुसिंहले जेनतेन छोरालाई भाषा कक्षा लिन काठमाडौं पठाएका थिए । ऋणधन गरेर भए पनि छोरालाई कोरिया पठाउने आमाबुबाको योजना थियो । 

मंगलबारको प्रदर्शनमा गोली लागेर गम्भीर घाइते भएका दीपकको शुक्रबार साँझ ८ बजे काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घरनजिकैको नागार्जुन माविबाट बाली विज्ञानमा कक्षा १२ पास गरेका दीपकले स्वदेशमा बसेर घरको आर्थिक अवस्था सुधार्न नसकिने देखेर कोरिया जाने योजना बनाएर भाषा सिक्न काठमाडौं गएका थिए ।

कोरियन भाषा सिकिरहेको छोरा केही महिना पछि परीक्षा दिएर घर आउने आशमा बसेका आमाबुबालाई छोराका मृत्युको खबर आएपछि बिक्षिप्त छन् । दिपकका मामा भरत मडैले भान्जाको मृत्युले परिवार, आफन्त र सिंगो पालिका शोकमा रहेको बताए । ‘अहिले दिदीभिनाजु त समाल्न नसकिने अवस्थामा छन्,’ उनले भने, ‘भिनाजुले भान्जाको कोरिया जाने सपना पूरा गर्न ऋण निकालेरै भए पनि कोरियन भाषा पढ्न काठमाडौं पठाएको थियो ।’ 

एक वर्षदेखि डेरामा बसेर भाषा कक्षा लिइरहेका उनी केही दिन पहिले कोरियन भाषाको फारम भरेर परीक्षाको तयारी गरिरहेको दीपकका साथी निर्मल साउदले बताए । ‘दीपक आन्दोलनमा बल्खुदेखि कालीमाटी जाने क्रममा गोली लागेर गम्भीर घाइते भएको थियो,’ उनले भने, ‘उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमा मृत्यु भयो ।’ 

आइतबार पोस्टमार्टम पछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको दिपकका साथी निर्मलसिह साउँदले बताए । पाँच भाई मध्येका दीपक साइला हुन् । कोरिया जाने सपना बोकेर बैतडीको बिकट शिवनाथ गाउँपालिकाको मडै गाउँबाट काठमाडौं पुगेका दीपकको मृत्युको खबरले उनको गाउँ नै शोकमा डुबेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । दीपकको मृत्युको शोकमा गाउँपालिकाले आइतबार विदा समेत दिएको छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully