बैतडीमा जिप दुर्घटना हुँदा दस जना घाइते

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको विद्युतीय जिप शनिबार दिउँसो दुर्घटना भएको हो । 

आश्विन ११, २०८२

मोहन चन्द

Ten people injured in a jeep accident in Baitadi

बैतडी — जयपृथ्वी राजमार्गको बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा विद्युतीय जिप दुर्घटना हुँदा दस जना घाइते भएका छन् । 

धनगढीबाट बैतडीको पुर्चौंडीतर्फ गइरहेको सु.प.प्र.००१ ज ०६२० नम्बरको उक्त जिप शनिबार दिउँसो दुर्घटना भएको हो । 

जिपमा चालकसहित १९ जना सवार रहेकोमा ८ सकुशल रहेका छन् भने १० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा साउद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउद रहेका छन् । 

यस्तै, पुर्चौंडी नगरपालिका –४ का १९ वर्षीया कमला धानुक, त्यही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी –३ की २२ वर्षीया सावित्री धामी पनि घाइते भएका छन् । 

घाइते सबैलाई उपचारका लागि डडेलधुरा अस्पताल लगिएको प्रहरी निरीक्षक बडूले बताए । इभी गाडी साहु सम्पर्कमा आएको र चालक पुर्चौंडी नगरपालिका–५ का महेश बोहरा फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully