कञ्चनपुर कारागारका ३ सय १ जना कैदीबन्दी फर्किए

कञ्चनपुर कारागारमा २६ महिलासहित ४ सय ७८ कैदी बन्दी थिए । भदौ २४ मा २१ जनाबाहेक सबै भागेका थिए ।

आश्विन ५, २०८२

भवानी भट्ट

310 prisoners of Kanchanpur Jail returned

कञ्चनपुर — कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दी मध्ये हालसम्म ३ सय १ जना फर्किएका छन् । कारागार प्रशासनका अनुसार आइतबारसम्म ५ महिला र २ सय ९६ पुरुष फर्किएका हुन् ।

‘कैदीबन्दीहरु फर्किने क्रम जारी छ,’कारागार प्रमुख रामदत्त जोशीले भने, ‘अन्त कारागारबाट भागेका कैदीहरु पनि यहाँ आएका छन् ।’ जेलर जोशीका अनुसार अझै १ सय ५६ जना फर्किन बाँकी छ । 

कञ्चनपुर कारागारमा २६ महिलासहित ४ सय ७८ कैदी बन्दी थिए । भदौ २४ मा २१ जनाबाहेक सबै भागेका थिए । 

भागेकामध्ये एक जना घरमै मृत भेटिएका छन् । लागूऔषध मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय पाएका बेलडाडी गाउँपालिकाका पदमराज भट्ट मृत भेटिएको जोशीले बताए । तर यसबारे आधिकारिक जानकारी भने प्राप्त नभएको जोशीले बताए । 

जोशीका अनुसार दार्चुला कारागारबाट भागेका शैलु सिंह र केन्द्रीय कारागारबाट भागेका पुरन राना पनि यही आएका छन् । उनीहरु दुवै जना कञ्चनपुर कारागारबाट सरुवा गरिएका थिए । उनीहरु यहीँका स्थानीय हुन् । 

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully