आगजनी र तोडफोडले स्थानीय तहमा सेवा सुरु गर्न अन्योल

भाद्र २७, २०८२

अर्जुन शाह, भवानी भट्ट

धनगढी– जेनजी प्रदर्शनका क्रममा थुप्रै सरकारी कार्यालय तोडफोड र आगाजनी भएका स्थानीय तह र वडा कार्यालयहरुमा सेवा सञ्चालन गर्न कठिनाइ भएको छ ।

कञ्चनपुरमा मात्रै प्रदर्शनकारीले मंगलबार ३० वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । केहीमा सामान्य क्षति भएको छ भने कतिपय ध्वस्त भएका छन् । 



वडा कार्यालय र स्थानीय तहका कार्यालयमा पनि आगजनी र तोडफोड हुँदा अहिले जनप्रतिनिधिहरु सेवा सुरु गर्ने विषयमा अन्योलमा छन् । ‘कम्प्यूटरदेखि कागजात सबै जलेका छन् कसरी सेवा दिने,’ शुक्लाफाँटा नगरपालिका ११ का अध्यक्ष शेरबहादुर साउँदले भने ।



शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयमा आगजानी र तोडफोड गरिएको प्रहरीले जनाएको छ । कृष्णपुर नगरपालिकाको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् । 



२४ गते दिउँसो र २५ गते राती समेत आगजनी गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनका अनुसार कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था छैन । नगर प्रमुख ओझाले नजिकै रहेको वनदेवी आधारभूत विद्यालयको खाली भवनबाट सेवा सुरु गर्ने योजना बनाएका छन् । तर त्यसका लागि पुरानो डाटाहरु तथा कागजात केही पनि छैन । 



जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा पनि आगजनी र तोडफोड गरिएको छ । उक्त नगरपालिकाका सवारी साधन समेत जलाइएको प्रहरीले जनाएको छ ।



कैलालीमा सात पालिका कार्यालय जलाइयो

मंगलबार उग्र बनेको प्रदर्शनका क्रममा कैलालीका सात पालिका कार्यालयसहित वडा कार्यालयहरुमा आगजनी भएको छ । घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा पालिका र सम्पूर्ण वडा कार्यालय जलाइएको सम्बन्धित स्थानीय तहका पदाधिकारीहरुले बताएका छन् ।



घोडाघोडी नगरपालिका कार्यालय भवनसहित १२ वटै वडा कार्यालयमा आगजनी गरिएको छ । कैलारी गाउँपालिकाको कार्यालयसहित ९ वटै वडामा आगजनी गरिएको छ । यस्तै गोदावरी नगरपालिकाको भवनमा आगजनी गरिएको छ । 



गौरीगंगा नगरपालिकाको भवनसहित वडा १, ६ र १० नम्बर वडा कार्यालयमा पनि आगजनी गरिएको छ । टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाको कार्यालयमा आंशिक तोडफोड गरिएको छ । लम्कीचुहाको १ नम्बर वडा कार्यालयमा तोडफोड भएको छ ।


अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully