मन्त्री पाल जोडिएको बालक मृत्यु घटना : पूरक जाहेरीमा अनुसन्धान सुरु

देवर र कान्छो छोरालाई साथमा लिएर बैतडी सदरमुकाम पुग्दा प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी दिएको पीडित राजमतीको भनाइ छ ।

भाद्र २२, २०८२

मोहन चन्द

Child death case linked to Minister Pal: Investigation started on supplementary complaint

What you should know

बैतडी — बैतडीको डिलासैनी गाउँपालिका-३ का १४ वर्षीय बालक किरण कोली मृत्युका विषयमा बैतडी प्रहरीले पूरक जाहेरीमा अनुसन्धान अगाडि बढाएको छ । 

विद्युत्‌को हाइटेन्सन लाइनमुनि थुपारिएको बालुवामा खेल्ने क्रममा गत साउन १७ गते मृत्यु भएका बालक किरणको विषयमा हुलाकमार्फत पूरक जाहेरी प्राप्त भएको र सनाखतका लागि पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए । ‘बालक किरण कोलीको बालुवाको थुप्रोमा खेल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको विषयमा पहिले नै जाहेरी दर्ता भई अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘हुलाकबाट पूरक जाहेरी प्राप्त भएको छ, सो माथि अनुसन्धान भइरहेको छ ।’ 

सनाखतका लागि हुलाकमार्फत पत्र पठाएसके पनि अहिलेसम्म पीडित सम्पर्कमा नआएको उनले बताए ।

बालकका बाजे हरिचन्द्र कोलीले दिएको जाहेरी गोकुलेश्वर प्रहरीको समन्वयमा साउन २१ गते इलाका प्रहरी कार्यालय पाटन बैतडीमा ज्यानसम्बन्धी मुद्दामा दर्ता भरेर अनुसन्धान चलिरहेको रायले बताए । 

मृतक बालककी आमा राजमती कोलीले घटनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको निर्माण कम्पनीले विद्यत् हाइटेन्सन लाइनमुनि थुपारेको बालुवाका कारण करेन्ट लागेर छोराको मृत्यु भएको भन्दै मन्त्री पाल, मन्त्रीका छोरा मुकेश र वडाध्यक्ष रघुवीर बोहराको नाममा हुलाकमार्फत जाहेरी दिएकी हुन् । 

किरणको मृत्युलगत्तै वडाध्यक्ष बोहराले मृतककी आमा राजमतीको खातामा पाँच लाख जम्मा गरिदिएका थिए । राजमतीले भने आफू बेहोस भएको अवस्थामा थाहा नै नदिई घटना मिलाउन पैसा जम्मा गरेको आरोप लगाइकी छन् । वडाध्यक्ष बोहराले पीडितलाई सहयोग गर्ने उद्देश्यले पार्टीका साथीहरुसँग मिलेर सहयोग गरेको बताएका थिए । 

देवर र कान्छो छोरालाई साथमा लिएर बैतडी सदरमुकाम पुग्दा प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी दिएको पीडित राजमतीको भनाइ छ । अहिले न्याय माग्न उनी काठमाडौं पुगेकी छन् ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully