दशरथचन्द नगरपालिकामा आइतबार सार्वजनिक बिदा 

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्राका अवसरमा भोलि नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो । 

भाद्र २१, २०८२

मोहन चन्द

Sunday is a public holiday in Dasharatchand Municipality

बैतडी — बैतडीको दशरथचन्द नगरपालिकाले आइतबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको वडा नं–२ स्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रा (मेला) का अवसरमा भोलि नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो । 

स्थानीय तहलाई आफ्नो क्षेत्राधिकारभित्र प्रदान गरिएको अधिकार प्रयोग गर्दै एकदिने सार्वजनिक बिदा दिइएको उपप्रमुख कौशिला चन्दद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालय, शिक्षण संस्था, गैरसरकारी संस्थामा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । 

निङ्गलाशैनी भगवती मन्दिरमा भाद्र शुक्ल द्वादशीबाट अनन्त चतुर्दशी जात्रा सुरु भएको हो । जात्रा भोलि भाद्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ । 

यो मन्दिरमा अरु जात्रामा सबैभन्दा बढी पशुबलि दिइने गरिन्छ । तर यो जात्रामा भने बलि नभएर विशेष पूजा गरिने वडाध्यक्ष सूर्य बोहराले बताए । यो जात्रालाई बैतडा स्वराडिकी जात्रा पनि भनिन्छ । 

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully