बैतडीमा पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध

पहिरोका कारण गिरेगडादेखि बैतडी सदरमुकामसम्मको सडक तीन दिनदेखि अवरुद्ध छ, पानी नरोकिनाले सडक खुलाउन समस्या भएको छ।

भाद्र १६, २०८२

मोहन चन्द

The road has been blocked for three days due to landslides in Baitadi

बैतडी — बिहीबार रातिदेखि परेको वर्षाले पहिरो जाँदा देहीमान्डौं-गिरेगडा सडक तीन दिनदेखि अवरुद्ध बनेको छ। दशरथचन्द नगरपालिका–२ सुन्दरखाली नजिक  सडक माथिबाट आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

सडकमाथिबाट पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध बनेको छ,’ उनले भने, ‘सडक खुलाउने प्रयास भइरहे पनि, पानी नरोकिनाले समस्या भइरहेको छ ।’

सडक अवरुद्ध बनेपछि गिरेगडादेखि बैतडी सदरमुकाम आउने र सदरमुकामदेखि गिरेगडा, पन्चेश्वर जाने सवारीसाधन बन्द भएका छन् । बैतडीमा चारदिन देखि निरन्तर वर्षा भइरहेको छ । यस्तै नेपाल भारत सिमामा रहेको जुलाघाट बजार नजिक पनि पहिरो गएको छ ।

यो पहिरो जुलाघाट जाने गाडी रोकिने ठाउँमा गएकाले यस्ले यातायताका साधन आवतजावतमा समस्या नगरेको प्रहरीले जनाएको छ । यी दुई ठाउँबाहेक जिल्लाका अरु ठाउँका सडक अवरुद्ध भए नभएको जानकारी अहिले सम्म प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully